बाराको निजगढ नगरपालिका–१ स्थित धनसार पुल नजिक पूर्व–पश्चिम राजमार्गमा भएको सवारी दुर्घटनामा एक वृद्धको मृत्यु भएको छ ।
हिजो साँझ करिब ५ बजे सिन्धुलीबाट वीरगंजतर्फ आउँदै गरेको मधेश प्रदेश ०३–००१ च ६८३० नम्बरको कुखुरा बोकेको पिकअप गाडीले पैदलयात्रीलाई ठक्कर दिएको थियो । ठक्करपछि गाडी अनियन्त्रित भई सडकमा पल्टिएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा निजगढ नगरपालिका–७ योजनाटोल निवासी करिब ८५ वर्षीय जयबहादुर पुलामी मगरको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।
दुर्घटनापछि स्थानीयबासी तथा प्रहरी टोली घटनास्थलमा पुगेका थिए। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।