धनुषा जिल्लाका विभिन्न क्षेत्रमा खडेरी र खानेपानीको समस्या देखिन थालेपछि जिल्ला प्रशासन कार्यालय धनुषाले सरकारी अनुदानमा जडान गरिएका भूमिगत पानीका स्रोतबाट चर्को शुल्क असुल नगर्न सम्बन्धित पक्षलाई चेतावनी दिएको छ ।
प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइँटेलले आइतबार एक सूचना जारी गर्दै कमला नगरपालिका, सबैला नगरपालिका, शहीदनगर नगरपालिका लगायतका केही स्थानीय तहका वडा तथा बस्तीमा पानीका मुहान सुक्नुका साथै बोरिङबाट समेत पानी आउन छाडेकाले खानेपानीको समस्या उत्पन्न भएको उल्लेख गरेका छन् । प्रशासनका अनुसार प्रभावित क्षेत्रमा तत्काल पिउने पानीको व्यवस्था मिलाउन सम्बन्धित वडा कार्यालय, स्थानीय तह तथा खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयसँग समन्वय गरी आवश्यक पहल भइरहेको छ ।
विगतमा नेपाल सरकार, प्रदेश सरकार, स्थानीय तह तथा विभिन्न दातृ निकायको अनुदानमा जडान गरिएका पम्पसेट, बोरिङ, डिप बोरिङ तथा इनारजस्ता सामुदायिक खानेपानी तथा सिँचाइका स्रोतबाट केही जग्गाधनीले अत्यधिक शुल्क लिएर मात्र पानी उपलब्ध गराउने गरेको गुनासो प्राप्त भएको प्रशासनले जनाएको छ । प्रशासनले सरकारी अनुदानमा निर्माण गरिएका यस्ता संरचनाबाट समुदायले निर्धारण गरेको सर्वसुलभ दरमै खानेपानी तथा सिँचाइ सुविधा उपलब्ध गराउन आग्रह गरेको छ ।
व्यक्तिगत लाभ वा नाफा कमाउने उद्देश्यले चर्को शुल्क असुलेको पाइएमा प्रचलित कानुनबमोजिम कारबाही गरिने चेतावनी समेत प्रशासनले दिएको छ ।