रौतहटको कटहरिया नगरपालिका–३ बरेडवामा एक नवविवाहित महिलाको शंकास्पद मृत्यु भएपछि घटनाले स्थानीय क्षेत्रमा सनसनी फैलाएको छ ।
माइती पक्षले दाइजोको विषयलाई लिएर हत्या गरिएको आरोप लगाएपछि प्रहरीले घटनाको विभिन्न कोणबाट अनुसन्धान सुरु गरेको छ । प्रहरीका अनुसार कटहरिया नगरपालिका–३ बरेडवा निवासी निरज कुमार साह सोनारकी करिब २० वर्षीया पत्नी निशा कुमारी साह सोनार शनिबार आफ्नै सुत्ने कोठामा साडीको पासो लगाई घरको बाँसको कोरोमा झुन्डिएको अवस्थामा फेला परेकी थिइन् ।
घटनाको जानकारी प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय कटहरियाको टोली घटनास्थल पुगेको थियो । त्यसपछि इलाका प्रहरी कार्यालय गरुडाबाट प्रहरी निरीक्षक प्रमोद खड्काको नेतृत्वमा टोली परिचालन गरी घटनास्थलको मुचुल्का उठाउनुका साथै प्रारम्भिक अनुसन्धान गरिएको प्रहरीले जनाएको छ । कानुनी प्रक्रिया पूरा गरी शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल गौर पठाइएको छ ।
यता मृतकका बुबा तथा ईशनाथ नगरपालिका–जटहरा निवासी रबिन्द्र साह सोनारले आफ्नी छोरीको हत्या गरी घटनालाई आत्महत्याजस्तो देखाउन शव झुन्ड्याइएको आरोप लगाएका छन् । उनका अनुसार गत फागुनमा विवाह भएपछि निरज कुमार साह सोनारले पटक–पटक एसी, नगद तथा अन्य दाइजोको माग गर्दै छोरीमाथि मानसिक तथा शारीरिक यातना दिने गरेका थिए । घटनापछि मृतकका श्रीमान् घर छाडेर सम्पर्कविहीन भएको दाबी पनि परिवारजनले गरेका छन्।
घटनापछि स्थानीयवासी तथा आफन्तले निष्पक्ष छानबिन गरी दोषीमाथि कडा कानुनी कारबाही गर्न माग गरेका छन्।
जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) बसन्त गौतमले घटनाको वास्तविक कारण पोस्टमार्टम प्रतिवेदन तथा अनुसन्धानबाट मात्रै पुष्टि हुने बताएका छन्। उनले अनुसन्धान पूरा नभएसम्म कसैलाई दोषी ठहर गर्न नमिल्ने स्पष्ट पार्दै सबै पक्षबाट प्रमाण सङ्कलन तथा आवश्यक अनुसन्धान भइरहेको जानकारी दिए ।