मधेश प्रदेशका सभामुख रामअशिष यादवले आर्थिक वर्ष २०८३/८४ को बजेट तथा अन्य समसामयिक विषयमा देखिएका समस्याको समाधानका लागि विशेष संसदीय कार्यदल गठन गरेका छन् ।
आइतबार बसेको मधेश प्रदेश सभाको बैठकमा सभामुख यादवले प्रदेश सभामा देखिएको गतिरोध तथा बजेट कार्यान्वयनका क्रममा उत्पन्न हुन सक्ने कानुनी र व्यावहारिक जटिलता समाधान गर्ने उद्देश्यले सात सदस्यीय विशेष संसदीय कार्यदल गठनको घोषणा गरेका हुन् ।
कार्यदलमा सांसद उपेन्द्र महतो, हरिन्द्रनारायण महतो, प्रमोदकुमार यादव, सन्जयकुमार यादव, बिमला अन्सारी खानम तथा सरिता कुमारी झा लगायत सदस्य रहेका छन् ।
सभामुख यादवका अनुसार कार्यदलले आइतबारदेखि नै आफ्नो काम सुरु गर्नेछ । आवश्यकताअनुसार आफ्नै कार्यविधि तयार गरी कार्य सञ्चालन गर्ने अधिकार पनि कार्यदललाई प्रदान गरिएको छ ।
कार्यदलको कामलाई थप प्रभावकारी र सहज बनाउन सभामुख यादवले मधेश प्रदेश सभा नियमावली, २०८२ को नियम १३५ को उपनियम (२) र (३) निलम्बन गर्ने प्रस्ताव पेश गर्न सांसद रवीन्द्र श्रेष्ठलाई अनुमति दिएका छन् ।