सप्तरीको अग्नीसाइर कृष्णासवरन गाउँपालिकाका विभिन्न बस्तीमा एक सातादेखि जारी जङ्गली हात्तीको आतंकले स्थानीयवासी त्रसित बनेका छन् ।
गाउँपालिकाको वडा नं. १ स्थित बेहराचाँप सुकुमवासी बस्ती तथा वडा नं. ६ अन्तर्गत मोहनपुर, भुजेलटोल, रतवला र उत्तरबस्ती क्षेत्रमा हात्तीको बथानले घरमा तोडफोड गर्नुका साथै अन्नपात र बालीनालीमा व्यापक क्षति पुर्याएको स्थानीयवासीले बताएका छन् । स्थानीयका अनुसार २२ वटाभन्दा बढी जङ्गली हात्तीको समूह दिनभर नजिकैको वन क्षेत्रमा बस्ने र साँझ परेपछि गाउँ पस्ने गरेको छ । हात्तीले घरका झ्याल, टाटी तथा भान्साघर भत्काउनुका साथै धान, चामल, मकैलगायत खाद्यान्न नष्ट गरिरहेको छ । खेतबारीमा लगाइएका बालीसमेत हात्तीको आक्रमणबाट जोगिन सकेका छैनन् ।
बेहराचाँप सुकुमवासी बस्तीकी मुकुन्तीकुमारी सरदारले दिनभर मजदुरी गरेर ल्याएको अन्नसमेत हात्तीले नष्ट गरेपछि परिवारको जीविकोपार्जन संकटमा परेको बताइन् । स्थानीय सहदेव सदाले हात्तीको त्रासका कारण रातभर जाग्राम बस्नुपर्ने अवस्था रहेको र ज्यानको जोखिम बढ्दै गएको बताए । स्थानीय मोहन मगरका अनुसार गाउँलेहरू पालैपालो रातभर बस्तीको सुरक्षा गरिरहेका छन्। तर, हात्तीको समूहले निरन्तर घर तथा सम्पत्तिमा क्षति पुर्याइरहेको छ ।
स्थानीयका अनुसार छोटकू सदा, सशिन्द्र सरदार, मुकुन्तीकुमारी सरदार, ललकू सरदार, सुष्मा सरदार, गल्ठी सरदार, सुखी सरदार, मोहन मगर, सहदेव सदा, राम सदा, बिजुली सदा, राजु सदा, देवन्तीदेवी चौधरी, लालूमाया नेपाली लगायत दर्जनौँ परिवारका घरमा हात्तीले क्षति पुर्याएको छ । यस्तै वडा नं. ६ का कमानसिंह मगर, नारायण विष्ट, सुवास चौधरी, पुष्पा बञ्जारा, हेमनारायण चौधरी तथा सोनाइ मेहतालगायतका स्थानीयवासी पनि प्रभावित भएका छन् ।
हात्तीको आतंकबारे स्थानीय सरकार, प्रहरी तथा वन कार्यालयलाई पटक–पटक जानकारी गराउँदा पनि प्रभावकारी पहल हुन नसकेको स्थानीयवासीको गुनासो छ । इलाका प्रहरी कार्यालय महुली तथा डिभिजन वन कार्यालयसँग सहयोग मागिए पनि आवश्यक स्रोत–साधनको अभावका कारण समस्या समाधान हुन नसकेको उनीहरूको भनाइ छ । वडा नं. ६ का अध्यक्ष अशोक आचार्यले सीमित स्रोत–साधनका बाबजुद स्थानीय तहले नागरिकको सुरक्षाका लागि आवश्यक समन्वय, गस्ती तथा सुरक्षित स्थानमा राख्ने प्रयास गरिरहेको बताए। उनका अनुसार जङ्गली हात्ती नियन्त्रणका लागि आवश्यक जनशक्ति, उपकरण तथा प्राविधिक सहयोगको अभाव छ ।
स्थानीय बृजमान तामाङले प्रभावित क्षेत्रमा सडक बत्ती, उच्च क्षमताका प्रकाश उपकरण, हात्ती तर्साउने सामग्री तथा टर्चलाइटको व्यवस्था गर्न र पीडित परिवारलाई खाद्यान्न राहत उपलब्ध गराउन सम्बन्धित निकायसँग आग्रह गरेका छन् । स्थानीयवासीका अनुसार उक्त सुकुमवासी बस्तीमा पछिल्लो एक वर्षदेखि हात्तीको समस्या दोहोरिँदै आएको छ । निरन्तरको आतंकका कारण बस्तीका बासिन्दाको जिउधन जोखिममा परेको र विस्थापित हुने खतरा बढ्दै गएको उनीहरूको भनाइ छ ।
पीडितहरूले प्रभावित क्षेत्रमा तत्काल प्राविधिकसहितको विशेष टोली परिचालन गर्न, घर तथा बालीनालीमा भएको क्षतिको यथार्थ मूल्याङ्कन गरी उचित क्षतिपूर्ति उपलब्ध गराउन, हात्ती नियन्त्रणका लागि दीर्घकालीन योजना लागू गर्न तथा स्थानीय नागरिकको सुरक्षाका लागि प्रभावकारी व्यवस्था गर्न सरकारसँग माग गरेका छन् ।