बाराको कलैया उपमहानगरपालिका–११ घोघडरियास्थित एक पोखरीमा डुबेर ६ वर्षीया बालिकाको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय बाराका अनुसार आइतबार साँझ करिब ६ः३० बजे स्थानीय सन्तोष पासवानकी छोरी राधिका कुमारी पासवान नुहाउने क्रममा पोखरीमा डुबेर बेहाेस भएकी थिइन् ।
घटनापछि परिवारका सदस्य तथा स्थानीयवासीले तत्काल उद्धार गरी उपचारका लागि प्रादेशिक अस्पताल कलैया पुर्याएका थिए । तर उपचारकै क्रममा चिकित्सकले उनलाई मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी नायब उपरीक्षक मिनबहादुर घलेले जानकारी दिए ।
घटनाबारे थप अनुसन्धान तथा कानुनी प्रक्रिया अगाडि बढाउन जिल्ला प्रहरी कार्यालय बाराबाट प्रहरी निरीक्षक विमल खतिवडाको नेतृत्वमा अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ । मृतक बालिकाको शव हाल प्रादेशिक अस्पताल कलैयामा राखिएको छ ।
घटनाको वास्तविक कारण खुलाउन आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।