धान रोपाइँको मध्य समयमा दुई दिनदेखि निरन्तर वर्षा भएपछि पर्सासहित मधेश प्रदेशका किसान उत्साहित भएका छन् ।
लामो समयसम्म पर्याप्त वर्षा नहुँदा चिन्तित बनेका किसान वर्षासँगै राहत महसुस गर्दै धमाधम धान रोपाइँमा जुटेका छन् । पर्याप्त आकाशे पानी परेपछि खेतमा रोपाइँको चटारो बढेको छ । पर्साको जानकी टोलका किसान संताेष पटेलका अनुसार लामो प्रतीक्षापछि परेको वर्षाले किसानलाई ठूलो राहत मिलेको बताए । उनका अनुसार पछिल्ला दुई दिनयता अधिकांश खेतमा तीव्र गतिमा धान रोपाइँ भइरहेको छ ।
वर्षाले रोपिसकेको धानबालीलाई समेत फाइदा पुगेको किसानहरूको भनाइ छ । पर्याप्त चिस्यानका कारण धान फस्टाउन र गाँज हाल्न सहज हुने उनीहरू बताउँछन् । साथै, यसअघि सिँचाइ अभावका कारण बाँझै रहेका धेरै खेतमा पनि अब रोपाइँ सम्भव भएको छ । अघिल्लो सातासम्म सुक्खा रहेका खोला, नहर र कुलोमा समेत पानीको बहाव बढेपछि किसानको तत्कालीन सिँचाइ समस्या टरेको छ ।
निरन्तर वर्षासँगै मधेशका अधिकांश क्षेत्रमा धान रोपाइँले गति लिएको कृषि क्षेत्रमा सरोकारवालाहरूले बताएका छन् ।