सिरहाको गोलबजार नगरपालिका–७ मा एकै परिवारका तीन बालबालिकाको पोखरीमा डुबेर मृत्यु भएको छ ।
गोलबजार–७ स्थित पशु हाटबजार नजिकै रहेको पोखरीमा नुहाउने क्रममा आइतबार दिउँसो उनीहरूको मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा स्थानीय अवास शेखकी १२ वर्षीया छोरी सबनम खातुन, १० वर्षीया छोरी रुबिना खातुन र सात वर्षीय छोरा साइफुल शेख रहेका छन् ।
रौतहट जिल्लाको जिगरवा स्थायी घर भएका अवास शेख लामो समयदेखि परिवारसहित गोलबजार नगरपालिका–७ मा भाडाको घरमा बस्दै आएका थिए । शेखका पाँच सन्तानमध्ये तीन जना आइतबार दिउँसो घर नजिकै खेल्न निस्किएका थिए । खेल्ने क्रममा उनीहरू पशु हाटबजार परिसरमा पशुहरूलाई पानी खुवाउन बनाइएको खाल्डोमा पुगेका थिए । उक्त खाल्डोमा जमेको पानीमा नुहाउने क्रममा तीनै जना बालबालिका अचानक डुबेको बताइएको छ ।
घटनाको जानकारी प्राप्त हुनासाथ स्थानीयवासी तथा सुरक्षाकर्मीको टोलीले बालबालिकाको उद्धार गरी उपचारका लागि अस्पताल पुर्याएको थियो । तर, उपचारका क्रममा चिकित्सकले उनीहरूलाई मृत घोषणा गरेका थिए ।