जल तथा मौसम विज्ञान विभागले आगामी तीन दिनसम्म देशका विभिन्न जिल्लाका साना नदी तथा खोलामा आकस्मिक बाढी आउने जोखिम रहेको भन्दै सतर्क रहन आग्रह गरेको छ ।
विभागका अनुसार पाँचथर, इलाम, झापा, मोरङ, सप्तरी, सुनसरी, भोजपुर, सङ्खुवासभा, दोलखा, रामेछाप, सिन्धुली, सिन्धुपाल्चोक, रसुवा, नुवाकोट, धादिङ, गोरखा, लमजुङ, तनहुँ, मकवानपुर, बारा, पर्सा, रौतहट, चितवन, नवलपरासी पूर्व, नवलपरासी पश्चिम, पाल्पा, कास्की, पर्वत, म्याग्दी, स्याङ्जा, कैलाली तथा आसपासका जिल्लाका साना नदी तथा खोलामा आकस्मिक बाढीको जोखिम रहेको छ।
विभागका बाढीविद् विनोद पराजुलीका अनुसार काठमाडौं, भक्तपुर, ललितपुर, काभ्रेपलाञ्चोक तथा आसपासका जिल्लामा आकस्मिक बाढीको उच्च जोखिम रहेको छ ।
आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भू–भागका धेरै स्थान तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भू–भागका केही स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षा वा हिमपात हुने सम्भावना रहेको विभागले जनाएको छ । त्यसैगरी, कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा तराई भू–भागका धेरै स्थानमा, मधेश प्रदेश तथा लुम्बिनी प्रदेशका पहाडी र तराई क्षेत्रका केही स्थानमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका केही स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ ।
विभागका अनुसार मधेश प्रदेशसहित कोशी, बागमती र गण्डकी प्रदेशका तराई क्षेत्र तथा लुम्बिनी प्रदेशका पहाडी र हिमाली भू–भागका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने सम्भावना रहेको छ ।
आज राति पनि कोशी र बागमती प्रदेशका हिमाली भू–भागका धेरै स्थान, गण्डकी प्रदेशका केही स्थान तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली क्षेत्रका थोरै स्थानमा मेघगर्जन तथा चट्याङसहित वर्षा वा हिमपातको सम्भावना रहेको विभागले जनाएको छ । यस्तै, मधेश प्रदेशसहित कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा तराई क्षेत्रका धेरै स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा वर्षाको सम्भावना रहेको छ ।
विभागका अनुसार कोशी प्रदेशका पहाडी तथा तराई भू–भागका केही स्थानमा भारीदेखि धेरै भारी वर्षा हुन सक्ने सम्भावना रहेको छ भने बागमती र गण्डकी प्रदेशका केही स्थानमा पनि भारी वर्षाको सम्भावना रहेको छ ।
विभागले बाढी प्रभावित हुन सक्ने क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन तथा नदी किनार र जोखिमयुक्त क्षेत्रमा अनावश्यक आवतजावत नगर्न आग्रह गरेको छ ।