पर्सा जिल्लामा यस वर्ष हालसम्म करिब ५५ प्रतिशत धान रोपाइँ सम्पन्न भएको छ । गत वर्ष यही अवधिमा ६० प्रतिशत रोपाइँ सम्पन्न भएको तुलनामा यस वर्षको प्रगति केही कम देखिएको छ ।
कृषि ज्ञान केन्द्र पर्साका सूचना अधिकारी तथा बाली संरक्षण अधिकृत उमेश थापाका अनुसार जिल्लामा करिब ५० हजार हेक्टर क्षेत्रफलमा धान खेती हुने गरेको छ । तीमध्ये हालसम्म २७ हजार ५०० हेक्टर क्षेत्रफलमा धान रोपाइँ सम्पन्न भइसकेको छ भने अझै २२ हजार ५०० हेक्टर क्षेत्रफलमा रोपाइँ गर्न बाँकी रहेको छ ।
थापाका अनुसार यस वर्ष मनसुन ढिलो गरी भित्रिनुका साथै समयमै पर्याप्त वर्षा नहुँदा धान रोपाइँ प्रभावित भएको हो । वर्षा अभावका कारण किसानले समयमै खेत तयारी गर्न नसक्दा रोपाइँको गति गत वर्षको तुलनामा सुस्त बनेको उनले बताए । तर पछिल्ला केही दिनयता निरन्तर वर्षा हुन थालेपछि जिल्लाभर धान रोपाइँले गति लिएको छ । खेतमा पर्याप्त पानी जम्न थालेसँगै किसानहरू रोपाइँ कार्यमा व्यस्त भएका छन् ।
कृषि ज्ञान केन्द्रले मौसम अनुकूल रहेमा बाँकी क्षेत्रफलमा पनि छिट्टै धान रोपाइँ सम्पन्न हुने अपेक्षा गरेको छ । केन्द्रका अनुसार आगामी केही दिनसम्म वर्षा जारी रहे किसानलाई रोपाइँ सम्पन्न गर्न सहज हुने विश्वास गरिएको छ ।