मिटरब्याजबाट पीडित नागरिकहरूले आफ्ना माग तत्काल सम्बोधन गर्न सरकारलाई दबाब दिँदै रौतहटको चन्द्रपुरमा कोणसभा गरेका छन् ।
जनकपुरबाट काठमाडौंसम्म पैदल यात्रा गरिरहेका पीडितहरूले सरकारले आफ्ना माग बेवास्ता गरे आन्दोलनलाई अझ सशक्त बनाउने चेतावनी दिएका छन् । चन्द्रपुरमा आयोजित कोणसभालाई सम्बोधन गर्दै मिटरब्याज तथा ठगीविरुद्ध किसान–मजदुर संघर्ष समितिका अध्यक्ष अवधेश कुशवाहाले मिटरब्याज पीडितहरूले वर्षौंदेखि अन्याय र आर्थिक शोषण भोग्दै आएको बताउनुभयो । सरकारले पटक–पटक प्रतिबद्धता जनाए पनि व्यवहारमा कार्यान्वयन नगरेकाले सडक आन्दोलन रोज्न बाध्य भएको उहाँको भनाइ थियो ।
उहाँले प्रतिकूल मौसम, लगातारको वर्षा तथा शारीरिक कठिनाइका बाबजुद न्यायको खोजीमा जनकपुरदेखि काठमाडौंसम्मको पैदल यात्रा जारी रहेको उल्लेख गर्दै ८० वर्षभन्दा माथिका ज्येष्ठ नागरिकसमेत यात्रामा सहभागी हुनु आन्दोलनको गम्भीरता र पीडितहरूको दृढ संकल्पको प्रतीक भएको बताउनुभयो । कोणसभाका क्रममा सहभागीहरूले ‘मिटरब्याज पीडितलाई न्याय दे’, ‘अवैध तमसुक खारेज गर’, ‘लुटिएको सम्पत्ति फिर्ता गर’ तथा ‘दलालहरू होशियार’ लगायतका नारा लगाउँदै सरकारसँग तत्काल ठोस निर्णय गर्न माग गरेका थिए ।
पीडितहरूले सरकारसमक्ष राखेको ६ बुँदे मागमा मिटरब्याजसँग सम्बन्धित अवैध तमसुक तथा कागजात खारेज गर्ने, विशेष आयोग तथा विशेष न्यायाधिकरण गठन गर्ने, कब्जा गरिएको सम्पत्ति फिर्ता गराउने, दोषीमाथि कानुनी कारबाही गर्ने तथा पीडितहरूको आर्थिक पुनर्स्थापनाको व्यवस्था गर्नुपर्ने विषय समेटिएका छन् ।
आन्दोलनकारीहरूले सरकारले विगतमा गरेका प्रतिबद्धता कार्यान्वयन नभएसम्म आन्दोलन नरोकिने स्पष्ट पारेका छन् । उनीहरूले “हामी दया होइन, संविधानले सुनिश्चित गरेको न्यायको अधिकार मागिरहेका छौं। अब आश्वासन होइन, कार्यान्वयन चाहिन्छ,” भन्दै सरकारलाई तत्काल निर्णय गर्न आग्रह गरेका छन् ।
चन्द्रपुरमा कोणसभा सम्पन्न गरेपछि मिटरब्याज पीडितहरूको ‘न्याय मार्च’ बारा जिल्लातर्फ प्रस्थान गरेको छ ।