मिटरब्याज पीडितहरूको समस्या समाधानका लागि पहल गर्ने उद्देश्यले गृहमन्त्री सुधन गुरुङ बारा जिल्लाको निजगढ पुगेका छन् ।
जनकपुरबाट काठमाडौं केन्द्रित आन्दोलनका लागि पैदल यात्रा गरिरहेका मिटरब्याज पीडितहरू हाल निजगढमा रहेका बेला गृहमन्त्री गुरुङ उनीहरूसँग प्रत्यक्ष संवाद गर्न त्यहाँ पुगेका हुन् । बुद्ध एयरको विमानमार्फत सिमरा विमानस्थलमा अवतरण गरेलगत्तै सडक मार्ग हुँदै निजगढ पुगेका गृहमन्त्री गुरुङले पीडितहरूसँग छलफल सुरु गरेका छन् ।
आफ्नो समस्याको दिगो समाधानको माग गर्दै लामो दूरीको पैदल यात्रा गरिरहेका पीडितहरूसँग गृहमन्त्रीको भएको यो भेटवार्तालाई अर्थपूर्ण र चासोका साथ हेरिएको छ । पीडित पक्षले सरकारसँग मिटरब्याजसम्बन्धी समस्याको स्थायी समाधान र दोषीमाथि कडा कारबाहीको माग गर्दै आएका छन् ।