सर्लाहीको गोडैता नगरपालिका–१० सिसौटियाका ४२ वर्षीय विवेक मण्डलको उपचारका क्रममा मृत्यु भएको छ ।
चार दिनअघि आफ्नै शरीरमा पेट्रोल छर्किएर आगो लगाएका मण्डलको मङ्गलबार बिहान २ बजे ललितपुरस्थित बर्न अस्पतालमा उपचारका क्रममा निधन भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक (डीएसपी) वेदप्रसाद गौतमले जानकारी दिनुभयो ।
मण्डलले गत शुक्रबार घर नजिकै आफ्नै शरीरमा पेट्रोल छर्किएर आगो लगाई आत्मदाहको प्रयास गर्नुभएको थियो। गम्भीर अवस्थामा रहेका उहाँलाई तत्काल प्रादेशिक अस्पताल मलङ्गवामा प्राथमिक उपचार गरिएपछि नेपाली सेनाको हेलिकोप्टरमार्फत थप उपचारका लागि ललितपुरस्थित बर्न अस्पताल लगिएको थियो । सर्लाही क्षेत्र नम्बर ४ का प्रतिनिधिसभा सदस्य डा. अमरेशकुमार सिंहले मण्डलको परिवारलाई सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।
मण्डलले आत्मदाहको प्रयास गर्नुको कारण भने हालसम्म खुल्न सकेको छैन। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।