पर्साको कालिकामाई गाउँपालिका–२ स्थित गदियानीको एक सडक २५ वर्ष बितिसक्दा पनि निर्माण हुन नसक्दा स्थानीयवासीले वर्षौंदेखि सास्ती खेप्दै आएका छन् ।
सडक ढलान नहुँदा वर्षायाममा हिलो र सुख्खा मौसममा धुलोका कारण आवतजावत गर्न निकै कठिन हुने गरेको स्थानीयको गुनासो छ । स्थानीय बुलेट तिवारीका अनुसार गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, वडा नम्बर–२ का वडा अध्यक्ष सोनालाल चौरसिया तथा सम्बन्धित निकायलाई पटक–पटक सडक निर्माणका लागि ध्यानाकर्षण गराइए पनि हालसम्म कुनै ठोस पहल हुन सकेको छैन ।
"हामीले वर्षौंदेखि सडक निर्माणको माग गर्दै आएका छौं। जनप्रतिनिधिहरूलाई पटक–पटक जानकारी गराउँदा पनि समस्या समाधानतर्फ कुनै प्रभावकारी कदम चालिएको छैन," तिवारीले भन्नुभयो।
उनका अनुसार भेडिहारी क्षेत्रका अधिकांश गल्ली तथा आठ फिट चौडाइका सडकहरू समेत ढलान भइसकेका छन् । तर १२ फिट चौडाइ रहेको गदियानीको उक्त सडक भने अझै निर्माण हुन नसक्दा आफूहरूलाई विभेद गरिएको महसुस भएको स्थानीयको भनाइ छ ।
स्थानीयवासीका अनुसार सडकको दयनीय अवस्थाले पैदलयात्री, विद्यार्थी, वृद्धवृद्धा तथा बिरामीलाई सबैभन्दा बढी समस्या हुने गरेको छ। वर्षाको समयमा सडक हिलोले भरिँदा हिँडडुल गर्नसमेत कठिन हुने गरेको छ भने मोटरसाइकल तथा साना सवारी साधन सञ्चालनमा समेत जोखिम बढ्ने गरेको छ । यस्तै, सुख्खा मौसममा सडकबाट उड्ने धुलोका कारण स्थानीय बासिन्दाले स्वास्थ्यसम्बन्धी समस्या भोग्नुपरेको गुनासो गरेका छन् ।
स्थानीयवासीहरूले गदियानीको उक्त सडकलाई तत्काल स्तरोन्नति गरी ढलान गर्न तथा सहज आवागमनको व्यवस्था मिलाउन गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, वडा अध्यक्ष सोनालाल चौरसिया तथा सम्बन्धित निकायसँग माग गरेका छन् ।