वीरगंज महानगरपालिकाका कार्यवाहक प्रमुख इम्तियाज आलमले सडक विस्तारको काम र वर्षायामका कारण सिर्जिएको चुनौतीपूर्ण अवस्थालाई मध्यनजर गर्दै नगरप्रहरीलाई २४सै घण्टा तयारी अवस्थामा रहन निर्देशन दिएका छन् ।
मंगलबार महानगरपालिकामा आयोजित नगरप्रहरीको रोलकल (हाजिरी तथा निरीक्षण) कार्यक्रममा कार्यवाहक प्रमुख आलम र प्रमुख प्रशासकीय अधिकृत वसन्तबहादुर बोहराले संयुक्त रूपमा नगरप्रहरीलाई नागरिकको सेवा र सुरक्षामा उच्च सतर्कताका साथ खटिन निर्देशन दिएका हुन् ।
कार्यक्रमलाई सम्बोधन गर्दै कार्यवाहक प्रमुख आलमले सडक विस्तारका कारण सहरका विभिन्न क्षेत्रमा आवागमन, नाला व्यवस्थापन तथा ट्राफिक व्यवस्थापनमा चुनौती थपिएको उल्लेख गरे । वर्षायामले समस्या अझ जटिल बनाएको भन्दै उनले यस्तो अवस्थामा नगरप्रहरीले चौबिसै घण्टा तयारी अवस्थामा रही नागरिकको सेवामा समर्पित हुनुपर्ने बताए ।
‘अहिले वीरगंजबासीलाई हाम्रो ठूलो आवश्यकता छ । सडक विस्तारका कारण सहर केही अस्तव्यस्त बनेको छ । वर्षाको मौसमले थप चुनौती सिर्जना गरेको छ । यस्तो अवस्थामा आम नागरिकको अपेक्षाअनुसार सेवा दिनु हाम्रो दायित्व हो,’ उनले भने ।
प्रमुख प्रशासकीय अधिकृत वसन्तबहादुर बोहराले सीमित स्रोत–साधनका बाबजुद नगरप्रहरीले नागरिकको सम्पत्ति र सार्वजनिक संरचनाको सुरक्षालाई प्राथमिकतामा राख्नुपर्ने बताए । नगरप्रहरीका लागि आवश्यक सामग्री उपलब्ध गराउने तयारी भइरहेको जानकारी दिँदै उनले अनुशासन, जिम्मेवारी र आदेश पालना (चेन अफ कमान्ड) लाई विशेष महत्व दिन आग्रह गरे ।
उनले नगरप्रहरीसम्बन्धी सबै अभिलेख अध्ययन गरिसकेको उल्लेख गर्दै कर्मचारीले जागिरको प्रकृति जस्तोसुकै भए पनि जिम्मेवारी इमानदारीपूर्वक निर्वाह गर्नुपर्ने बताए । अनुशासनहीन गतिविधि गर्ने जो–कोहीमाथि कानुनबमोजिम कारबाही गरिने चेतावनीसमेत उनले दिए ।
विशेष परिस्थितिमा नगरप्रहरीसम्बन्धी आएका विभिन्न गुनासोहरूलाई सम्बोधन गर्दै प्रमुख प्रशासकीय अधिकृत वसन्तबहादुर बोहराले नगरप्रहरीलाई जिम्मेवारी प्रभावकारी रूपमा निर्वाह गर्न निर्देशन दिएका छन् । साथै, आगामी गहवामा हुने रथयात्राको सुरक्षा व्यवस्था चुस्त, दुरुस्त र प्रभावकारी बनाउन विशेष निर्देशनसमेत दिएका छन् ।