जबरजस्ती करणी मुद्दामा अदालतबाट सात वर्ष कैद सजाय र तीन लाख ३७ हजार रुपैयाँ जरिवाना ठहर भई फरार रहेका एक प्रतिवादीलाई प्रहरीले काठमाडौंबाट पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार पर्सा जिल्ला अदालतले २०८१ असार २३ गतेको फैसला अनुसार जबरजस्ती करणी मुद्दामा दोषी ठहर भएका वीरगञ्ज महानगरपालिका–९ निवासी रोहण केशरी फरार रहेका थिए। अदालतले उनलाई सात वर्ष कैद सजायका साथै तीन लाख ३७ हजार रुपैयाँ जरिवाना तोकेको थियो ।
जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको संयुक्त प्रहरी टोलीले काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुको समन्वयमा उनलाई काठमाडौं महानगरपालिका–९ स्थित एयरपोर्ट नजिक गोल्डेन गेट अगाडिबाट २०८३ असार ३० गते पक्राउ गरेको हो ।
पक्राउ परेका केशरीलाई आवश्यक कानुनी प्रक्रिया पूरा गरी फैसला कार्यान्वयनका लागि पर्सा जिल्ला अदालतमा बुझाउने कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।