पर्साको वीरगंज महानगरपालिका–१ स्थित छपकैया सुकुम्बासी टोलमा भारतबाट भन्सार छली गरी ल्याइएका अवैध कपडा लुकाएर राखिएको सूचनाका आधारमा सुरक्षानिकायले संयुक्त रूपमा छापामारी गरी करिब तीन लाख रुपैयाँ बराबरका कपडा बरामद गरेको छ ।
सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण मुख्यालय पर्साका अनुसार विशेष सूचनाका आधारमा सीमा सुरक्षा गुल्म वीरगंजबाट सशस्त्र प्रहरी नायब उपरीक्षक विकास अधिकारीको नेतृत्वमा खटिएको टोली, इलाका प्रहरी कार्यालय छपकैयाको प्रहरी टोली तथा वीरगञ्ज भन्सार कार्यालयका प्रतिनिधिसहितको संयुक्त टोलीले सोमबार दिउँसो उक्त क्षेत्रमा छापामारी गरेको हो ।
छापामारीका क्रममा छपकैया सुकुम्बासी टोलस्थित १० वटा गोठ र ११ वटा फुसका घरमा खानतलासी गरिएको थियो । त्यसक्रममा मेलु साह तुराहाको घरभित्र पलङको प्लाइमुनि लुकाएर राखिएको चार पोका सुटिङ तथा थानका कपडा र गोठमा भुसभित्र लुकाइएको एक पोका कुर्ता–सुरुवालका कपडा फेला परेको सशस्त्र प्रहरीले जनाएको छ ।
बरामद भएका पाँच पोका कपडाको अनुमानित मूल्य करिब तीन लाख रुपैयाँ रहेको छ । बरामद सामान आवश्यक कानुनी प्रक्रिया पूरा गरी वीरगञ्ज भन्सार कार्यालयमा बुझाउने प्रक्रिया अघि बढाइएको सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण मुख्यालय पर्साका सूचना अधिकारी सशस्त्र प्रहरी नायब उपरीक्षक मोहनराज निरौलाले जानकारी दिएका छन् ।