रौतहटको गरुडा नगरपालिका–९ गम्हरियाका एक युवकले आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाउँदै आत्मदाहको प्रयास गरेका छन् ।
जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार देवेन्द्र सहनीका २८ वर्षीय छोरा गौतमकुमार सहनीले मंगलबार राति करिब १ बजे आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाएका हुन् । घटनापछि परिवारका सदस्य तथा स्थानीयवासीको सहयोगमा उनलाई तत्काल उपचारका लागि गरुडास्थित एक स्थानीय अस्पतालमा पुर्याइएको थियो । त्यहाँ प्रारम्भिक उपचारपछि थप उपचारका लागि काठमाडौंस्थित कीर्तिपुर बर्न अस्पतालमा रेफर गरिएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक बसन्त गौतमका अनुसार सहनीको घाँटीदेखि तलसम्मको करिब ३१ प्रतिशत शरीर जलेको छ । हाल उनको स्वास्थ्य अवस्था मध्यम रहेको र विशेषज्ञ चिकित्सकको निगरानीमा उपचार भइरहेको छ । प्रहरीका अनुसार युवकले आत्मदाहको प्रयास गर्नुको कारण हालसम्म खुल्न सकेको छैन । घटनाको वास्तविक कारण तथा पृष्ठभूमिबारे अनुसन्धान भइरहेको प्रवक्ता गौतमले जानकारी दिए ।
घटनापछि स्थानीय क्षेत्रमा चिन्ता र चासो बढेको छ भने प्रहरीले परिवारका सदस्य तथा सम्बन्धित व्यक्तिसँग आवश्यक सोधपुछ गरी घटनाको विस्तृत अनुसन्धान अघि बढाएको जनाएको छ ।