मधेश प्रदेशको राजधानी जनकपुरधामस्थित हिन्दू धर्मावलम्बीहरूको प्रमुख आस्थाको केन्द्र जानकी मन्दिर परिसरमा रहेको विवाह मण्डप र विद्युतीय संग्रहालयमा पहिलोपटक तालाबन्दी गरिएको छ ।
टिकट शुल्कको विषयलाई लिएर मधेश प्रदेश सरकारका गृह, सञ्चार तथा कानून मन्त्री फकिरा महतो र जानकी मन्दिर व्यवस्थापनबीच विवाद चर्किएपछि शुक्रबारदेखि दुवै संरचना बन्द गरिएको हो ।
जानकी मन्दिर व्यवस्थापनले विवाह मण्डप र माता सीताको जन्मदेखि विवाहसम्मको जीवनचरित्र समेटिएको विद्युतीय संग्रहालय अवलोकनका लागि लामो समयदेखि प्रवेश शुल्क लिँदै आएको थियो । तर मन्त्री महतोले सार्वजनिक धार्मिक सम्पदामा प्रवेश शुल्क उठाउनु अनुचित भएको भन्दै टिकट बिक्री गरिरहेका कर्मचारीबाट टिकट नियन्त्रणमा लिएपछि विवाद उत्पन्न भएको हो । त्यसको विरोधस्वरूप मन्दिर व्यवस्थापनले विवाह मण्डप र संग्रहालयमा तालाबन्दी गरेको जनाएको छ ।
तालाबन्दीका कारण दर्शन तथा अवलोकनका लागि आएका स्वदेशी तथा विदेशी श्रद्धालु र पर्यटक निराश बनेका छन् । स्थानीयवासीका अनुसार धार्मिक तथा ऐतिहासिक महत्व बोकेका यी संरचना बन्द हुँदा भक्तजनले असहज अवस्था भोग्नुपरेको छ भने धार्मिक पर्यटनसमेत प्रभावित भएको छ ।
जानकी मन्दिरका महन्थ रामतपेश्वर दास वैष्णवले मन्त्री महतोले कुनै पूर्वसमन्वय वा औपचारिक प्रक्रिया नअपनाई ‘गुण्डाशैली’मा टिकट खोसेको आरोप लगाएका छन् । उनका अनुसार मन्दिरको पूजा–पाठ, सरसफाइ, संरक्षण तथा दैनिक व्यवस्थापनका लागि प्रत्येक वर्ष विवाह मण्डप र संग्रहालय सञ्चालनको जिम्मा ठेक्का प्रक्रियामार्फत दिइँदै आएको छ ।
महन्थ वैष्णवका अनुसार विद्युतीय संग्रहालय प्रवेशका लागि १५ रुपैयाँ र विवाह मण्डप अवलोकनका लागि १० रुपैयाँ टिकट शुल्क लिने व्यवस्था लामो समयदेखि कायम छ । उनले संघ, प्रदेश वा स्थानीय कुनै पनि सरकारले मन्दिर सञ्चालन तथा व्यवस्थापनका लागि हालसम्म आर्थिक सहयोग नगरेको दाबी गर्दै खर्चसम्बन्धी विवरण आवश्यक भए कार्यालयमै आएर माग्न सकिने बताए। प्रत्यक्ष रूपमा टिकट खोस्ने कार्य मन्त्रीको पदअनुकूल नभएको उनको भनाइ छ ।
उता मधेश प्रदेश सरकारका गृह, सञ्चार तथा कानून मन्त्री फकिरा महतोले भने सार्वजनिक धार्मिक सम्पदामा प्रवेश शुल्क लिनु गलत भएको जिकिर गरेका छन् । पटक–पटक शुल्क हटाउन आग्रह गर्दा पनि मन्दिर व्यवस्थापनले बेवास्ता गरेपछि आफूले टिकट नियन्त्रणमा लिएको उनले बताएका छन् ।
उनले जानकी मन्दिर कुनै व्यक्ति वा संस्थाको निजी सम्पत्ति नभई सार्वजनिक सम्पदा भएकाले श्रद्धालुसँग प्रवेश शुल्क उठाउनु उचित नहुने धारणा राखे । पूजा–पाठ तथा व्यवस्थापनका नाममा ठेक्का लगाइएको विषयमा पनि प्रश्न उठाउँदै त्यसका लागि कसको स्वीकृतिमा ठेक्का दिइएको हो भन्ने स्पष्ट हुनुपर्ने बताए । साथै, मन्दिरले हालसम्म आफ्नो आय–व्यय सार्वजनिक नगरेकाले त्यसप्रति पनि प्रश्न उठेको उनको भनाइ छ ।
जानकी मन्दिर परिसरभित्र रहेको माता जानकीको जन्मदेखि विवाहसम्मका प्रसंग आधुनिक प्रविधिमार्फत प्रस्तुत गरिएको विद्युतीय संग्रहालय भारत सरकारको आर्थिक सहयोगमा करिब एक दशकअघि निर्माण गरिएको हो । यो संग्रहालय जनकपुरधाम आउने स्वदेशी तथा विदेशी पर्यटकका लागि प्रमुख आकर्षणमध्ये एक मानिन्छ ।
त्यस्तै, हालको विवाह मण्डप वि.सं. २०२६ सालमा बडागुरुजी खगेन्द्रराज पाण्डेको पहलमा निर्माण सुरु गरिएको थियो । तत्कालीन महन्थ नवलकिशोर दासको महत्वपूर्ण योगदान रहेको उक्त संरचनाको निर्माण सम्पन्न भएपछि वि.सं. २०४२ साल पुस १८ गते तत्कालीन राजा वीरेन्द्र वीर विक्रम शाह देवले उद्घाटन गरेका थिए ।
धार्मिक विश्वासअनुसार भगवान राम र माता सीताको विवाह यही स्थानमा सम्पन्न भएको मानिन्छ । वि.सं. १९९० सालको महाभूकम्पबाट पुरानो मण्डप क्षतिग्रस्त भएपछि प्यागोडा शैलीमा हालको विवाह मण्डप पुनर्निर्माण गरिएको थियो। मण्डपको गर्भगृहमा भगवान राम, माता सीता, लक्ष्मण, भरत, शत्रुघ्न तथा उनीहरूका धर्मपत्नीहरूको संगमरमरका मूर्तिहरू स्थापना गरिएका छन् ।
हरेक वर्ष विवाह पञ्चमीका अवसरमा यही विवाह मण्डपमा राम–जानकी विवाह महोत्सवको मुख्य कार्यक्रम आयोजना हुने गर्दछ, जहाँ नेपाल, भारत तथा अन्य मुलुकबाट लाखौं श्रद्धालु जनकपुरधाम पुग्ने गरेका छन् । ऐतिहासिक, धार्मिक तथा पर्यटकीय दृष्टिले महत्वपूर्ण यी संरचनामा पहिलोपटक तालाबन्दी भएपछि यसको असर धार्मिक पर्यटन, श्रद्धालुको आवागमन तथा स्थानीय पर्यटन व्यवसायमा समेत पर्ने देखिएको छ ।