सर्लाहीको हरिवन नगरपालिका–३ बाट प्रहरीले प्रतिबन्धित लागुऔषधसहित एक युवतीलाई पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय हरिवनबाट खटिएको प्रहरी टोलीले स्थानीय ३० वर्षीया बुनु योञ्जनलाई उनको घरबाटै नियन्त्रणमा लिएको हो । विशेष सूचनाका आधारमा प्रहरीले योञ्जनको घरमा खानतलासी गरेको थियो । खानतलासीका क्रममा उनको सुत्ने कोठाको खाटमुनि लुकाइछिपाइ राखिएको अवस्थामा प्रतिबन्धित लागुऔषध तथा अन्य सामग्री बरामद गरिएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार योञ्जनको कोठाबाट नाइट्राजेपाम ट्याब्लेट, खाली बोतल चार थान तथा ६०० ग्राम गाँजा बरामद गरिएको छ । पक्राउ परेकी योञ्जनविरुद्ध लागुऔषध नियन्त्रण ऐनअन्तर्गत मुद्दा दर्ता गरी थप अनुसन्धान प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ ।
यस घटनामा जिल्ला अदालत सर्लाहीबाट असार ३० गतेदेखि लागू हुने गरी सात दिनको म्याद थप अनुमति प्राप्त भएपछि इलाका प्रहरी कार्यालय हरिवनले थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक वेदप्रसाद गौतमले जानकारी दिएका छन् ।