सर्लाहीको धनकौलस्थित अन्नपूर्ण चिनी मिलका सञ्चालकद्वय शैलेन्द्र गुप्ता र विनोद साह कलवार पक्राउ परेका छन् ।
उखु किसानहरूको भुक्तानी लामो समयसम्म पनि नदिएको भन्दै पीडित किसानहरूले दिएको उजुरीका आधारमा जिल्ला प्रहरी कार्यालय सर्लाहीले उनीहरूलाई नियन्त्रणमा लिएको हो । उखु खरिद गरेबापतको रकम लामो समयदेखि भुक्तानी नगरेपछि मिल प्रशासनप्रति किसानहरू असन्तुष्ट रहँदै आएका थिए। पटक–पटक ताकेता गर्दा पनि बक्यौता रकम भुक्तानी नभएपछि किसानहरूले कानुनी कारबाहीको माग गर्दै प्रहरीमा उजुरी दर्ता गराएका थिए ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक (डीएसपी) वेदप्रसाद गौतमका अनुसार ठगीको आरोपमा मिलका दुवै सञ्चालकलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान प्रक्रिया अगाडि बढाइएको छ । डीएसपी गौतमले किसानहरूले दिएको ठगीसम्बन्धी उजुरीका आधारमा सञ्चालकहरूलाई नियन्त्रणमा लिइएको र घटनाबारे थप कानुनी प्रक्रिया अघि बढाइने जानकारी दिए।
वर्षौंदेखि आफ्नो पसिनाको मूल्य पाउन नसक्दा स्थानीय उखु किसानहरू आर्थिक संकटमा पर्दै आएका छन् । यसअघि पनि प्रशासन, किसान तथा उद्योग पक्षबीच विभिन्न चरणमा छलफल भए पनि भुक्तानीको समस्या समाधान हुन नसकेपछि प्रहरीले यो कदम चालेको हो ।
उखु किसानहरूले लामो समयदेखि बक्यौता रकम भुक्तानीको माग गर्दै आन्दोलन र दबाब कार्यक्रमसमेत सञ्चालन गर्दै आएका थिए ।