बारा । मिटरब्याज पीडित र गृहमन्त्री सुधन गुरुङबीच बाराको निजगढस्थित नगर उद्योग वाणिज्य संघको भवनमा बुधबार बेलुका पुनः वार्ता सुरु भएको छ ।
मध्यान्ह १२ बजेका लागि तय गरिएको वार्ता गृहमन्त्री गुरुङ सिमरा क्षेत्रमा भेटघाट, स्थलगत अनुगमन तथा पर्सा राष्ट्रिय निकुञ्जभित्र रहेको मन्दिर दर्शनमा व्यस्त रहेकाले करिब आठ घण्टा ढिलो बेलुका करिब ८ बजे सुरु भएको हो ।
जनकपुरबाट न्यायको माग गर्दै काठमाडौंतर्फ पैदल मार्चमा रहेका मिटरब्याज पीडितहरू सरकारसँग वार्ता गर्न दुई दिनदेखि निजगढमै रोकिएका छन् । मंगलबार भएको पहिलो चरणको वार्ता कुनै निष्कर्षमा पुग्न नसकेपछि बुधबार पुनः छलफल सुरु गरिएको हो ।
वार्तामा पीडित पक्षले आफ्ना छबुँदे माग कार्यान्वयनका लागि सरकारबाट स्पष्ट र ठोस प्रतिबद्धता चाहेको जनाएको छ । उनीहरूले माग सम्बोधनमा सहमति भए आन्दोलन स्थगित गर्ने, अन्यथा काठमाडौंसम्मको पैदल मार्चलाई निरन्तरता दिने अडान कायम राखेका छन् ।
वार्ताको नतिजाबारे समाचार तयार पार्दासम्म कुनै आधिकारिक जानकारी सार्वजनिक भएको छैन ।