बाराको करैयामाई गाउँपालिका–३ मा इँटा उद्योगले माटो उत्खनन गरेर छाडेको पानी जमेको खाल्डोमा डुबेर एक बालिकाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा करैयामाई गाउँपालिका–३ गालोपट्टी निवासी शिवनारायण चौधरीकी ११ वर्षीया छोरी रोशनी चौधरी रहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ । प्रहरीका अनुसार बुधबार साँझ करिब ५ बजे बाख्रा चराउन गएकी रोशनी गौतम इँटा उद्योग परिसरनजिक रहेको पानी भरिएको खाल्डोमा डुबेर बेपत्ता भएकी थिइन् ।
बालिका घर नफर्किएपछि परिवार र स्थानीयवासीले खोजी गर्ने क्रममा खाल्डोमा उनको शव फेला पारेका थिए । घटनाको जानकारी प्राप्त हुनासाथ गञ्जभवानीपुर प्रहरी चौकी र जिल्ला प्रहरी कार्यालय बाराबाट अनुसन्धान अधिकृतसहितको टोली घटनास्थल पुगेको थियो। प्रहरीले आवश्यक कानुनी प्रक्रिया पूरा गरी शव परीक्षणका लागि प्रादेशिक अस्पताल कलैया पठाएको जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।
यसैबीच, करैयामाई गाउँपालिका–३ का वडाध्यक्ष प्रशुराम यादवले इँटा उद्योग तथा अन्य निर्माण प्रयोजनका लागि खनिएका खाल्डा खुला अवस्थामा छाडिँदा वर्षायाममा पानी भरिने र त्यसबाट बालबालिकासहित सर्वसाधारणको ज्यान जोखिममा पर्ने गरेको बताए ।
उनले यस्ता जोखिमयुक्त खाल्डालाई तत्काल घेराबार गर्न, चेतावनी बोर्ड राख्न तथा सुरक्षा व्यवस्थापन गर्न सम्बन्धित निकायसँग माग गरेका छन् ।
वर्षायाममा पानी भरिएका खुला खाल्डा, पोखरी तथा नदी–नालाको आसपास बालबालिकालाई एक्लै जान नदिन र जोखिमयुक्त स्थानको उचित व्यवस्थापन गर्नुपर्ने आवश्यकता उक्त घटनाले पुनः उजागर गरेको छ ।