मिटरब्याजविरुद्ध आन्दोलनरत पीडित र गृहमन्त्री सुधन गुरुङबीच बाराको निजगढस्थित नगर उद्योग वाणिज्य संघको सभाहलमा आज तेस्रो चरणको वार्ता हुने भएको छ ।
मंगलबार करिब पाँच घण्टा र बुधबार करिब पाँच घण्टा चलेको पहिलो तथा दोस्रो चरणको वार्तापछि आजको छलफललाई दुवै पक्षले निर्णायक रूपमा लिएका छन् । मिटरब्याज तथा ठगीविरुद्ध किसान–मजदुर आन्दोलन, नेपालको नेतृत्वमा पीडितहरूले असार २५ गते जनकपुरस्थित तिरहुतिया गाछीबाट काठमाडौं केन्द्रित ‘पैदल मार्च’ सुरु गरेका हुन् ।
आन्दोलनकारीहरूले फर्जी लिखत खारेज, मिटरब्याजविरुद्ध प्रभावकारी विशेष ऐन निर्माण, विशेष न्यायाधिकरण गठन, साहु–महाजनको सम्पत्तिको छानबिन, पीडितको सम्पत्ति फिर्ता तथा न्यायपूर्ण आर्थिक कारोबार सुनिश्चित गर्नुपर्ने लगायतका छ बुँदे माग गृहमन्त्रीसमक्ष प्रस्तुत गरेका छन् ।
पीडित पक्षले आफ्ना मागहरूको दीर्घकालीन र व्यवहारिक समाधान खोज्न सरकारलाई दबाब दिँदै आन्दोलनलाई निरन्तरता दिइरहेका छन् । आज हुने तेस्रो चरणको वार्ताबाट मिटरब्याज पीडितहरूको माग सम्बोधनतर्फ ठोस निष्कर्ष निस्कने अपेक्षा गरिएको छ ।