मिटरब्याज पीडितहरू सरकारले गठन गरेको वार्ता टोलीसँग औपचारिक छलफलका लागि काठमाडौं आउन लागेका छन् ।
गृहमन्त्री सुधन गुरुङसँग विगत तीन दिनदेखि भइरहेको छलफलपछि सरकारले वार्ता टोली गठन गरेसँगै पीडित पक्षका प्रतिनिधिहरू बिहीबार बेलुका हवाई मार्गबाट काठमाडौं प्रस्थान गर्न लागेका हुन् ।
गृहमन्त्री गुरुङले नै पीडित प्रतिनिधिहरूलाई विमानमार्फत काठमाडौं पठाउने व्यवस्था मिलाएको जनाइएको छ । पीडितहरूको तर्फबाट अवधेश कुशवाहाको संयोजकत्वमा वार्ता समिति गठन गरिएको छ । समितिमा मनोजकुमार पासमान, रिजन राना मगर, लक्ष्मी घिमिरे तथा किरण परियार सदस्य रहेका छन् । मिटरब्याज तथा ठगीविरुद्ध आन्दोलनरत पीडितहरूले आफ्ना मागहरूको दिगो समाधानका लागि सरकारसँग औपचारिक वार्ता प्रक्रिया अघि बढाउन लागेको बताएका छन् ।
पीडित पक्षले फर्जी लिखत खारेज, मिटरब्याजविरुद्ध विशेष ऐन निर्माण, विशेष न्यायाधिकरण गठन, साहु–महाजनको सम्पत्तिको छानबिन तथा पीडितहरूको सम्पत्ति फिर्ता लगायतका माग उठाउँदै आएका छन् ।