वीरगंजलाई कर्मथलो बनाएर दुई दशकदेखि खोज पत्रकारितामा सक्रिय पत्रकार सुरेश बिडारी राष्ट्रियस्तरको प्रतिष्ठित ‘भरतमोहन अधिकारी–नाफिज आर्थिक पत्रकारिता पुरस्कार’ बाट सम्मानित भएका छन् ।
नेपाल आर्थिक पत्रकार संघ (नाफिज) ले आर्थिक पत्रकारितामार्फत पुर्याएको विशिष्ट योगदानको उच्च मूल्याङ्कन गर्दै बिडारीलाई यस वर्षको उक्त पुरस्कार प्रदान गरेको हो ।
काठमाडौँमा आयोजित ‘विद्युतीय पूर्वाधार निर्माणका चुनौती र अबको बाटो’ विषयक अन्तरक्रिया कार्यक्रमका अवसरमा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री बिराजभक्त श्रेष्ठले पत्रकार बिडारीलाई पुरस्कार प्रदान गरेका हुन् । स्वर्गीय उपप्रधानमन्त्री तथा अर्थमन्त्री भरतमोहन अधिकारीको स्मृतिमा स्थापना गरिएको यो पुरस्कार आर्थिक पत्रकारितामा उत्कृष्ट योगदान पुर्याउने पत्रकारलाई प्रत्येक वर्ष प्रदान गरिन्छ ।
पत्रकार बिडारीले खोज पत्रकारिता केन्द्र (सीआईजे) नेपालका लागि तयार पारेको ‘लिजको नाममा अस्तव्यस्त भए वीरगंजका सार्वजनिक सम्पत्ति’ शीर्षकको खोजमूलक समाचारका लागि यो पुरस्कार प्राप्त गरेका हुन् ।
उक्त खोजमूलक समाचारमा वीरगंजका बहुमूल्य सार्वजनिक जग्गा तथा ऐतिहासिक भवनहरू न्यून मूल्यमा लिजमा दिँदै सार्वजनिक सम्पत्तिको दुरुपयोग गरिएको तथ्य उजागर गरिएको थियो । आर्थिक सुशासन, सार्वजनिक सम्पत्तिको संरक्षण तथा भ्रष्टाचारविरुद्ध निरन्तर खोजमूलक समाचार प्रकाशन गर्दै आएको योगदानका आधारमा बिडारीलाई यस वर्षको पुरस्कारका लागि छनोट गरिएको नाफिजले जनाएको छ ।
वीरगंजको सञ्चार क्षेत्रमा स्थापित नामका रूपमा परिचित बिडारी रेडियो नारायणी एफएमका पूर्व स्टेशन म्यानेजरसमेत हुन् । उनले लामो समयसम्म रेडियोको व्यावसायिक विकाससँगै स्थानीय समुदायका आवाजलाई प्रभावकारी रूपमा उठाउने भूमिका निर्वाह गरेका थिए । हाल उनी राष्ट्रिय अनलाइन सञ्चारमाध्यम सेतोपाटी डटकममा आबद्ध भई आर्थिक सुशासन, भ्रष्टाचार तथा सार्वजनिक सरोकारका विषयमा खोज पत्रकारितामा सक्रिय छन् ।
यसै समारोहमा अन्य दुई विधाका पत्रकारिता पुरस्कार पनि प्रदान गरिएको थियो । ‘भरतमोहन अधिकारी–नाफिज सहकारी पत्रकारिता पुरस्कार’ नेपाल प्रेस डटकमकी रिता राउतलाई तथा ‘नेपाल निर्जीवन बीमा व्यवसायी संघ–नाफिज बीमा पत्रकारिता पुरस्कार’ बिमा पोस्ट डटकमकी रीना खत्रीलाई प्रदान गरिएको नाफिजले जनाएको छ ।
नाफिजले आर्थिक, सहकारी तथा बीमा पत्रकारितामार्फत मुलुकको अर्थतन्त्र, सुशासन तथा सञ्चार क्षेत्रको विकासमा उल्लेखनीय योगदान पुर्याउने पत्रकारलाई प्रोत्साहन गर्ने उद्देश्यले हरेक वर्ष यी पुरस्कार प्रदान गर्दै आएको छ ।