सामाजिक सञ्जालमार्फत उत्तेजक भिडियो तथा भ्रामक सूचना प्रसारण गरेको आरोपमा सप्तरी प्रशासनले तीन जनालाई नियन्त्रणमा लिएको छ ।
जिल्ला प्रशासन कार्यालय सप्तरीले शाखा अधिकृत सन्तोष रायको संयोजकत्वमा 'ज्वाइन्ट अपरेसन सेल' गठन गरी सामाजिक सञ्जालमा भइरहेका भ्रामक तथा उत्तेजक गतिविधिमाथि निगरानी तीव्र बनाएको जनाएको छ ।
सहायक प्रमुख जिल्ला अधिकारी तथा सूचना अधिकारी नरेशकुमार यादवका अनुसार निगरानीका क्रममा सामाजिक सञ्जालमा भ्रामक सामग्री पोस्ट गर्ने तीन जनालाई नियन्त्रणमा लिइएको थियो । तीमध्ये तिरहुत गाउँपालिका–४ डिमनका २३ वर्षीय जफिर मियाँ र रूपनी गाउँपालिका–१ का ३९ वर्षीय मुकेश यादवलाई सम्झाइबुझाइ छाडिएको छ ।
यस्तै, राजविराज नगरपालिका–६ का २० वर्षीय छोटुकुमार मेस्तरलाई आवश्यक अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय सप्तरीको नियन्त्रणमा राखिएको प्रशासनले जनाएको छ । प्रशासनका अनुसार हालसम्म सामाजिक सञ्जालमा उत्तेजक सामग्री पोस्ट गर्ने १० जनाको पहिचान गरिएको छ ।
छिन्नमस्ता गाउँपालिका–३ का आनन्द चौधरी, हनुमाननगर कङ्कालिनी नगरपालिका–१४ का रामकुमार महतो, राजविराज नगरपालिका–६ का २८ वर्षीय विशाल चौधरी, राजविराज–२ स्थित राजदेवी ड्राइभिङ सेन्टरका सञ्चालक ३५ वर्षीय आशिष यादव तथा सुरुङ्गा नगरपालिका–१० कदमाहाका दिनेशकुमार यादवले पोस्ट गरेका सामग्री हटाउन लगाइएको छ ।
त्यसैगरी, वैदेशिक रोजगारीमा रहेका केही नेपालीले पनि सामाजिक सञ्जालमार्फत उत्तेजक सामग्री पोस्ट गरेको पाइएको प्रशासनले जनाएको छ । राजविराज नगरपालिका–७ घर भई हाल टर्कीमा रहेका सिनु साह तथा सुनसरीको हरिनगर गाउँपालिका–६ घर भई हाल कतारमा रहेका २८ वर्षीय असिम अन्सारीले पनि यस्ता सामग्री पोस्ट गरेको भेटिएको प्रशासनले जनाएको छ ।
जिल्ला प्रशासन कार्यालयले सामाजिक सद्भाव र सार्वजनिक शान्तिमा असर पुग्ने किसिमका भ्रामक तथा उत्तेजक सामग्री सामाजिक सञ्जालमा प्रकाशन वा प्रसारण नगर्न सबैलाई आग्रह गरेको छ ।