धनुषाको मिथिला नगरपालिका–९ बडहरीस्थित नेपाल रेडक्रस सोसाइटीको सामुदायिक विकास केन्द्र पछिल्लो समय आफ्नो मानवीय सेवाको उद्देश्यबाट विमुख हुँदै बेवारिसे अवस्थामा पुगेको छ ।
करिब चार दशकअघि परोपकार, विपद् व्यवस्थापन तथा समुदायमा स्वास्थ्य सेवा विस्तार गर्ने उद्देश्यले स्थापना गरिएको केन्द्र अहिले निष्क्रियता र बेथितिको प्रतीक बनेको स्थानीयको गुनासो छ । कुनै समय विपद्का बेला राहत सामग्री वितरण, एम्बुलेन्स सेवा सञ्चालन तथा विभिन्न जीवनोपयोगी तालिमको केन्द्र बनेको यो परिसर अहिले सुनसान छ । भवनमा ताल्चा झुन्डिएका छन् भने मानवीय सेवाका लागि खरिद गरिएका चारवटा एम्बुलेन्स र रक्त संकलनका लागि ल्याइएको विशेष बस लामो समयदेखि प्रयोगविहीन अवस्थामा खुला आकाशमुनि थन्किएका छन् ।
स्थानीयका अनुसार केन्द्र स्थापना भएको दशकौं बितिसक्दा पनि समुदायले अपेक्षित सेवा पाउन सकेको छैन। स्थानीय धिरजकुमार महतोले रेडक्रसको बोर्ड देखेर आकस्मिक अवस्थामा रगत खोज्दै आउने सेवाग्राहीहरू निराश भएर फर्किनुपर्ने अवस्था रहेको बताए । उनका अनुसार नर्सरी सञ्चालनबाहेक अन्य कुनै सेवा प्रभावकारी रूपमा उपलब्ध छैन। उनले सो स्थानलाई आँखा अस्पताल वा अन्य उपयोगी स्वास्थ्य सेवा केन्द्रका रूपमा सञ्चालन गर्नुपर्ने सुझाव दिएका छन् ।
त्यस्तै, लालगढ उपशाखाकी पूर्वउपसभापति गोमा लामाले विगतमा केही गतिविधि हुने गरे पनि अहिले सम्पूर्ण सेवा ठप्प भएको बताइन् । संस्थाभित्रको कमजोर व्यवस्थापन र नेतृत्वका कारण सेवा प्रभावित भएको उनको भनाइ छ । केन्द्रको रेखदेखमा खटिएकी कर्मचारी जीवनदेवी कोइरालाका अनुसार निर्वाचनबाहेक अन्य समयमा केन्द्रमा कुनै औपचारिक कार्यक्रम वा स्वास्थ्य सेवा सञ्चालन भएका छैनन् ।
स्थानीयले विपद्का बेला वितरण गर्न ल्याइएका राहत सामग्रीसमेत दुरुपयोग भएको आरोप लगाएका छन् । उनीहरूका अनुसार पीडितका लागि ल्याइएका चामल, दाल, तेललगायतका राहत सामग्री समयमै वितरण नगरी गोदाममै कुहाइएको र पछि खाडल खनेर गाडिएको थियो। यस विषयमा निष्पक्ष छानबिनको माग समेत गरिएको छ । जिल्ला कार्यसमितिको निष्क्रियता र कार्यसम्पादनमाथि प्रश्न उठेपछि नेपाल रेडक्रस सोसाइटीको केन्द्रीय कार्यालयले धनुषा जिल्ला कार्यसमिति भंग गर्दै पंकज महतोको नेतृत्वमा तदर्थ समिति गठन गरेको छ ।
नवनियुक्त सभापति महतोले पदभार ग्रहण गरेलगत्तै बडहरी केन्द्रको निरीक्षण गर्दै संस्थाको वर्तमान अवस्थाप्रति गम्भीर चिन्ता व्यक्त गरेका छन् । उनले राहत सामग्री कुहाएर गाडिएको घटनाबारे विशेष छानबिन गरिने तथा प्रयोगविहीन अवस्थामा रहेका एम्बुलेन्स र बस मर्मत गरेर पुनः सञ्चालनमा ल्याइने प्रतिबद्धता जनाएका छन् । उनले रेडक्रसलाई पारदर्शी, उत्तरदायी र समुदायमुखी संस्थाका रूपमा पुनःस्थापित गर्ने योजना रहेको बताए ।
निरीक्षणका क्रममा सभापति महतोले भने, "करोडौँ रुपैयाँको संरचना र महँगा एम्बुलेन्सहरू यसरी प्रयोगविहीन अवस्थामा थन्किएको देख्दा अत्यन्त दुःख लागेको छ । रेडक्रस कसैको व्यक्तिगत सम्पत्ति होइन । विगतमा भएका बेथितिको गहिरो अनुसन्धान गरी दोषीलाई कानुनी दायरामा ल्याइनेछ ।"
हाल बडहरीस्थित सामुदायिक विकास केन्द्र भौतिक संरचनामा मात्र सीमित बनेको छ । नयाँ नेतृत्वले सेवा पुनः सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरेसँगै स्थानीयवासीले केन्द्रबाट फेरि प्रभावकारी मानवीय सेवा प्रवाह हुने अपेक्षा गरेका छन् ।