मधेश प्रदेश सरकारद्वारा धनुषामा सञ्चालित ३२ वटा बहुवर्षीय योजनामध्ये अधिकांश योजनाको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ ।
पूर्वाधार विकास कार्यालय जनकपुरधामका अनुसार तीमध्ये धेरैजसो योजना चालु आर्थिक वर्षभित्रै सम्पन्न हुने अवस्थामा पुगेका छन् । कार्यालय प्रमुख सञ्जीवकुमार साहका अनुसार बहुवर्षीय योजनाअन्तर्गत सञ्चालन भइरहेको ‘एक निर्वाचन क्षेत्र सडक कार्यक्रम’ पनि अन्तिम चरणमा पुगेको छ। उक्त कार्यक्रमअन्तर्गत प्रत्येक निर्वाचन क्षेत्रमा पाँच–पाँच किलोमिटर सडक निर्माण तथा कालोपत्र गर्ने लक्ष्य राखिएको छ।
कार्यालयका अनुसार बहुवर्षीय योजनाअन्तर्गत जनकपुरधाम उपमहानगरपालिका–१ स्थित जलाद खोलामा पुल निर्माण तथा भीमान–महनगाछी–किसनपुर सडक कालोपत्रको काम सम्पन्न भइसकेको छ।
पूर्वाधार विकास कार्यालयले आर्थिक वर्ष २०८२/८३ मा सडक तथा भौतिक पूर्वाधार निर्माणतर्फ उल्लेखनीय प्रगति हासिल गरेको जनाएको छ । सो अवधिमा धनुषाका विभिन्न स्थानमा ५७ किलोमिटर सडक ढलान, २२ वटा कल्भर्ट निर्माण, २२.५ किलोमिटर सडक ग्राभेल, एक किलोमिटर सडक कालोपत्र तथा सात किलोमिटर सडक मर्मत–सम्भार सम्पन्न गरिएको कार्यालयले जनाएको छ ।
त्यसैगरी, जनकपुरधामस्थित बीपी स्मृति सभाहल र सबैलास्थित योगनारायण स्मृति सभाहल निर्माण सम्पन्न भएको छ । साथै, जिल्लाका विभिन्न स्थानमा २२ वटा सामुदायिक भवन र दुई वटा सभाहल निर्माणको काम पनि सम्पन्न गरिएको कार्यालय प्रमुख साहले जानकारी दिए ।
जनता आवास कार्यक्रम अन्तर्गत धनुषा र महोत्तरीमा निर्माणाधीन ७९६ आवासमध्ये ६३८ वटा निर्माण सम्पन्न भइसकेका छन्। बाँकी आवाससम्बन्धी विषय अदालतमा विचाराधीन रहेकाले निर्माण कार्य रोकिएको जनाइएको छ । यस्तै, महेन्द्र नारायण निधि विपन्न आवास योजना अन्तर्गत धनुषामा निर्माण गर्न लागिएका १०५ आवासमध्ये ७१ वटा निर्माण सम्पन्न भएका छन् भने बाँकी ३४ वटा निर्माणाधीन अवस्थामा रहेका छन् ।
त्यसैगरी, मदन भण्डारी विपन्न आवास योजना अन्तर्गत निर्माण गरिने ५५ आवासमध्ये २९ वटा सम्पन्न भइसकेका छन् भने बाँकी आवास निर्माणको काम जारी रहेको पूर्वाधार विकास कार्यालयले जनाएको छ ।