सर्लाही सदरमुकाम मलङ्गवामा सरकारले अनुदानमा उपलब्ध गराएको रासायनिक मल कालोबजारी गरी बिक्री गरेको आरोपमा तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार मलङ्गवा नगरपालिका–१० स्थित कृष्ण जेनरल स्टोर किराना पसलबाट अनाधिकृत रूपमा डिएपी मल बिक्री गरेको आरोपमा मलङ्गवा–७ निवासी २३ वर्षीय अभिनय राय र २० वर्षीय अभिनन्दन राय पक्राउ परेका हुन् ।
प्रहरीका अनुसार प्रारम्भिक सोधपुछका क्रममा उनीहरूले अनुमति बिना डिएपी मल प्रतिवोरा ३ हजार ५०० रुपैयाँमा बिक्री गर्दै आएको स्वीकार गरेका छन् । पसलमा खानतलासी गर्दा प्रहरीले चार बोरा डिएपी मल र एक बोरा युरिया मल बरामद गरेको छ ।
अनुसन्धानका क्रममा बरामद मल मलङ्गवा नगरपालिका–४ शिवसागर चोकस्थित राहुल गुप्ताले सञ्चालन गरेको पसलबाट प्रतिवोरा ३ हजार २०० रुपैयाँमा खरिद गरी आफूहरूले ३ हजार ५०० रुपैयाँमा बिक्री गर्ने गरेको बयान उनीहरूले दिएका छन् । उक्त बयानका आधारमा प्रहरीले २८ वर्षीय राहुल गुप्तालाई पनि नियन्त्रणमा लिएको छ। उनको पसलबाट थप सात बोरा युरिया मल बरामद गरिएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक (डीएसपी) वेदप्रसाद गौतमका अनुसार पक्राउ परेका तीनै जनाविरुद्ध कालोबजारी सम्बन्धी कसुरमा जिल्ला प्रशासन कार्यालय सर्लाहीबाट सात दिनको म्याद थप गरी थप अनुसन्धान अघि बढाइएको छ ।