सर्लाहीको बागमती नगरपालिका–८ कल्याणपुर टोलमा शिवचर्चा पूजाका क्रममा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ ।
इलाका प्रहरी कार्यालय बरहथवाका अनुसार स्थानीय राजकुमार महतोको घरमा शिवचर्चा पूजा भइरहेको बेला माइक समात्ने क्रममा करेन्ट लाग्दा ६५ वर्षीया मानकी देवी गम्भीर घाइते भएकी थिइन् । करेन्ट लागेर अचेत भएकी उनलाई तत्काल उपचारका लागि नगर अस्पताल बरहथवा लगिएको थियो । तर उपचारका क्रममा चिकित्सकले उनलाई मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार मृतकको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल मलङ्गवा पठाइएको छ ।
घटनाका क्रममा शिवचर्चा पूजामा सहभागी अन्य व्यक्तिहरू भने सकुशल रहेको इलाका प्रहरी कार्यालय बरहथवाले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।