सप्तरीको बोदेबर्साइन नगरपालिका ५ बाट मोबाइलको पार्टपुर्जासहित एक मोटरसाइकल प्रहरीले नियन्त्रणमा लिएको छ ।
अबैध रुपमा भारतबाट नेपालतर्फ भन्सार छली मोटरसाइकलमा लोड गरि ल्याउँदै गरेको मोबाइलको पार्टपुर्जा प्रहरीले नियन्त्रणमा लिएको हो । इलाका प्रहरी कार्यालय बोदेबर्साइनबाट खटिएको प्रहरी गस्ती टोलीलाई देखेपछि मोटरसाइकल छोडेर मानिस फरार भएपछि शंका लागी चेकजाँच गर्दा विभिन्न मोबाइलका सामानहरु फेला परेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
बोरामा राखेर ल्याएको ३ लाख २२ हजार ३ सय बराबरको मोबाइलका सामान तथा नम्बर नभएको मोटरसाइकल नियन्त्रणमा लिएको सप्तरीका प्रहरी प्रबक्ता डिएसपी हेमराज घिमिरेले जानकारी दिए । नियन्त्रणमा लिएको मोबाइलका पार्टपुर्जासहित मोटरसाइकल आवश्यक कारबाहीको लागि राजविराज भन्सार कार्यालयमा बुझाइएको डिएसपी घिमिरेले बताए ।