नेपालको निजी औद्योगिक क्षेत्रको अग्रणी स्टिल उत्पादक हुलास स्टिल इन्डस्ट्रिज प्रालिले आफ्नो ४५औँ स्थापना दिवस विविध कार्यक्रमका साथ मनाएको छ ।
स्थापना दिवसका अवसरमा उद्योगले उत्पादन क्षमता विस्तार, वातावरणमैत्री प्रविधिको प्रयोग तथा कर्मचारीको योगदानलाई सम्मान गर्दै विभिन्न कार्यक्रम आयोजना गरेको हो । सिमरास्थित उद्योग परिसरमा आयोजित कार्यक्रममा उद्योगका प्रबन्ध निर्देशक हिमांशु गोल्छाले स्वदेशी उद्योगको भविष्य सरकारको औद्योगिक नीतिसँग प्रत्यक्ष रूपमा जोडिएको बताउँदै प्रतिस्पर्धी उत्पादनका लागि उद्योगमैत्री वातावरण अपरिहार्य रहेको बताए । उनले आयातित वस्तुसँग प्रतिस्पर्धा गर्न सक्ने वातावरण सिर्जना गर्न उत्पादन लागत घटाउने, लगानीको सुरक्षा सुनिश्चित गर्ने तथा निजी क्षेत्रलाई प्रोत्साहन गर्ने नीतिको आवश्यकता रहेको उल्लेख गरे ।
हिमांशु गोल्छाका अनुसार हुलास स्टिलले चार दशकभन्दा बढी समयदेखि नेपाली बजारमा स्टिलजन्य सामग्री उत्पादन गर्दै निर्माण तथा पूर्वाधार विकासमा महत्वपूर्ण योगदान पुर्याउँदै आएको छ । गत आर्थिक वर्षमा उद्योगले करिब एक लाख मेट्रिक टन स्टिल उत्पादन गरेको जानकारी दिँदै आगामी वर्षहरूमा उत्पादन क्षमता वृद्धि र अत्याधुनिक प्रविधिको प्रयोगलाई थप प्राथमिकता दिइने बताए ।स्थापना दिवसका अवसरमा उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीहरूलाई सम्मानपत्रसहित विभिन्न विधामा पुरस्कार प्रदान गरिएको थियो । उत्पादन, गुणस्तर व्यवस्थापन, कार्यकुशलता तथा संस्थागत विकासमा उल्लेखनीय योगदान पुर्याएका कर्मचारीलाई विशेष सम्मान गरिएको उद्योगले जनाएको छ ।
उद्योग परिसरमै आयोजित वृक्षारोपण कार्यक्रममार्फत हुलास स्टिलले वातावरण संरक्षणप्रतिको आफ्नो प्रतिबद्धता पनि दोहोर्याएको छ । उद्योगले ऊर्जा खपत कम गर्ने, डिजेल तथा पेट्रोलमा आधारित उपकरणको प्रयोग क्रमशः घटाउँदै वातावरणमैत्री प्रविधि विस्तार गर्ने नीति अवलम्बन गरिरहेको जनाएको छ । हरित उद्योगको अवधारणाअनुसार उत्सर्जन नियन्त्रण र ऊर्जा दक्षता अभिवृद्धिमा केन्द्रित कार्यक्रमलाई निरन्तरता दिइने व्यवस्थापनले जनाएको छ।
कार्यक्रममा इलाका प्रशासन कार्यालय सिमराका प्रमुख राजेन्द्रप्रसाद कँडेल प्रमुख अतिथिका रूपमा सहभागी थिए । उद्योगका पदाधिकारी, कर्मचारी तथा विभिन्न क्षेत्रका सरोकारवालाको उपस्थितिमा सम्पन्न कार्यक्रममा स्वदेशी उद्योगको संरक्षण, रोजगारी विस्तार, प्रविधि हस्तान्तरण तथा औद्योगिक विकासलाई गति दिन सरकार र निजी क्षेत्रबीच अझ प्रभावकारी सहकार्य आवश्यक रहेको धारणा व्यक्त गरिएको थियो ।