आर्थिक वर्ष २०८२/८३ मा धनुषा जिल्ला अदालतले पाँच हजार २१६ वटा मुद्दा फर्छ्योट गरेको छ। नयाँ मुद्दाको चाप निरन्तर बढिरहे पनि अदालतले आधाभन्दा बढी मुद्दा टुंग्याउन सफल भएको जनाएको छ ।
जिल्ला अदालत धनुषाका सूचना अधिकारी हेमकुमार महतोका अनुसार गत आर्थिक वर्षमा पाँच हजार ८४४ नयाँ मुद्दा दर्ता भएका थिए । अघिल्लो आर्थिक वर्षबाट चार हजार २३१ मुद्दा सरेर आएकाले अदालतमा कुल १० हजार ७५ मुद्दा विचाराधीन थिए।तीमध्ये पाँच हजार २१६ मुद्दा फर्छ्योट गरिएको छ भने हाल पाँच हजार ५९ मुद्दाको सुनुवाइ प्रक्रिया जारी रहेको अदालतले जनाएको छ ।
अघिल्लो आर्थिक वर्ष २०८१/८२ मा अदालतमा पाँच हजार ७५३ नयाँ मुद्दा दर्ता भएका थिए। त्यसअघि रहेका चार हजार १७९ मुद्दासहित कुल नौ हजार ९३२ मुद्दामध्ये पाँच हजार ७०१ मुद्दा फर्छ्योट गरिएको थियो । यस वर्ष नयाँ मुद्दाको संख्या बढे पनि फर्छ्योट भएका मुद्दाको संख्या अघिल्लो वर्षको तुलनामा केही घटेको देखिएको छ ।
सूचना अधिकारी महतोका अनुसार अदालतले लागू गरेको स्वचालित पेसी प्रणाली प्रभावकारी बन्दै गएको छ । उक्त प्रणाली लागू भएपछि पेसी व्यवस्थापन सहज भएको, सुनुवाइ प्रक्रिया थप पारदर्शी बनेको तथा सेवाग्राहीले छिटो र प्रभावकारी सेवा पाउन थालेका छन् । अदालत प्रशासनले आगामी दिनमा सूचना प्रविधिको प्रयोगलाई अझ विस्तार गर्दै न्याय सम्पादनलाई थप प्रभावकारी, पारदर्शी र सेवाग्राहीमैत्री बनाउने लक्ष्य लिएको जनाएको छ ।
अदालतका अनुसार स्वचालित पेसी प्रणालीको प्रभावकारी कार्यान्वयनसँगै मुद्दा व्यवस्थापनमा सुधार आउने र विचाराधीन मुद्दाको संख्या क्रमशः घट्दै जाने विश्वास गरिएको छ ।