जनकपुरधाम । ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक पहिचान बोकेको जनकपुरधाम कुनै समय ‘५२ कुटी, ७२ कुण्ड’ को सहरका रूपमा परिचित थियो । समयसँगै ती सम्पदामध्ये धेरै लोप भएका छन् भने संरक्षणमा रहेका केही स्थल अहिले नयाँ चुनौतीसँग जुधिरहेका छन् ।
पछिल्ला वर्षहरूमा पर्यटकीय गन्तव्यका रूपमा परिचित बनेको नोचा पोखरी पनि अहिले लागूपदार्थ सेवन र अनैतिक गतिविधिको केन्द्र बन्दै गएको भन्दै स्थानीयले चिन्ता व्यक्त गरेका छन् ।
जनकपुर उपमहानगरपालिका–९ मा रहेको नोचा पोखरी दुई–तीन वर्षयता सामाजिक सञ्जालमार्फत निकै चर्चामा आएको थियो। हरियाली वातावरण, शान्त परिवेश र आकर्षक संरचनाका कारण यहाँ दैनिक ठूलो सङ्ख्यामा आन्तरिक पर्यटक पुग्ने गरेका थिए।
स्थानीय सञ्जय चौधरीका अनुसार एक समय फेसबुक, टिकटक र इन्स्टाग्राममा नोचा पोखरीको चर्चा व्यापक थियो। “यहाँ घुम्न नआउने मानिस कमै थिए,” उनले भने ।
स्थानीय तहले पोखरीको सौन्दर्यीकरणका लागि पर्खाल, विश्रामस्थल, सेल्फी स्पटलगायतका संरचना निर्माण गरेको छ। तर, पछिल्लो समय ती संरचनाहरूको दुरुपयोग हुन थालेको स्थानीयवासीको आरोप छ ।
पोखरी नजिकै खेतमा काम गरिरहेकी रामकली महतोका अनुसार अहिले त्यहाँ गाँजा सेवन गर्ने समूह र युवायुवतीको बाक्लो उपस्थिति देखिन्छ । “पहिला परिवारसहित घुम्न आउनेहरू धेरै हुन्थे, अहिले भने कुना–काप्चामा बसेर अनैतिक गतिविधि गर्नेहरू बढेका छन्,” उनले भनिन् ।
पिपरा गाउँका हुसेन अलीले पनि पोखरी परिसरमा चुरोट, गाँजा तथा अन्य लागूपदार्थ सेवन गर्नेहरू खुला रूपमा बस्ने गरेको बताए । उनका अनुसार पोखरीका घाटमा बियर र मदिराका बोतल छरपस्ट देखिने गरेका छन् भने साँझपख यस्तो गतिविधि अझ बढ्ने गरेको छ ।
धनुषाको भमरपुराबाट घुम्न आएका सञ्जय मिश्रले पनि पोखरीको प्राकृतिक वातावरण राम्रो भए पनि त्यहाँ भइरहेको गतिविधिले निराश बनाएको बताए । “घुम्न आएको ठाउँमा यस्तो दृश्य देख्दा फेरि आउन मन लाग्दैन,” उनले भने ।
यता जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायब उपरीक्षक (डीएसपी) एवं प्रवक्ता मधुसुदन न्यौपानेले पोखरी क्षेत्र केही सुनसान भएकाले त्यस्ता गतिविधि बढेको हुन सक्ने स्वीकार गर्दै अब नियमित गस्ती र निगरानी बढाइने बताए ।
स्थानीयवासीले पर्यटकीय सम्भावना बोकेको नोचा पोखरीलाई सुरक्षित र व्यवस्थित बनाउन स्थानीय तह तथा प्रशासनले संयुक्त रूपमा प्रभावकारी निगरानी, सुरक्षा व्यवस्था र व्यवस्थापनमा ध्यान दिनुपर्ने माग गरेका छन् ।
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)