ग्यासको कृत्रिम अभाव, अनियमित वितरण र उपभोक्ताको गुनासो बढेपछि रौतहट प्रशासनले ग्यास डिलर तथा विक्रेतामाथि निगरानी कडा बनाएको छ ।
गृह मन्त्रालयको निर्देशनपछि जिल्ला प्रशासन कार्यालय रौतहटले जिल्लाका १७ वटा ग्यास डिलर तथा विक्रेताको पसलमा एकैपटक आकस्मिक छड्के अनुगमन गरेको हो । अनुगमनका लागि प्रशासनले दुई वटा छुट्टाछुट्टै टोली परिचालन गरेको थियो। चन्द्रनिगाहपुर क्षेत्रमा प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुषालको नेतृत्वमा सुरक्षा निकायका प्रमुखसहितको टोली खटिएको थियो भने गौर क्षेत्रतर्फ प्रशासकीय अधिकृतको नेतृत्वमा जिल्ला प्रहरी कार्यालयको सहयोगमा अर्को टोली परिचालन गरिएको थियो ।
प्रमुख जिल्ला अधिकारी भुषालका अनुसार गौर, गरुडा र चन्द्रनिगाहपुरलगायतका प्रमुख बजार क्षेत्रमा रहेका सुपर, नेपाल सहारा, सहारा, बाबा, नोबेल, नेपाल सुपर र नेपाल ग्यासका डिलरमा अनुगमन गरिएको हो ।
डिलरमा खाली सिलिन्डर थुप्रै, व्यवसायी भन्छन्– ‘ग्यास नै कम आयो’
अनुगमनका क्रममा अधिकांश डिलर तथा विक्रेताको स्टोरमा खाली सिलिन्डरको संख्या उल्लेख्य रहेको पाइएको छ। तर व्यवसायीहरूले भने उद्योगबाटै पर्याप्त मात्रामा ग्यास आपूर्ति नभएको र मागअनुसार ग्यास उपलब्ध हुन नसकेको दाबी गरेका छन् ।
व्यवसायीका अनुसार समयमै ग्यास नआउने र मागको तुलनामा कम परिमाणमा मात्र आपूर्ति हुने समस्या रहेको छ । प्रशासनका अनुसार ग्यास आएपछि अधिकांश विक्रेताले प्रहरीको रोहबरमा पसल अगाडिबाटै उपभोक्तालाई वितरण गर्ने गरेका छन् ।
ग्यास लुकाएर राखे कारबाही हुने चेतावनी
अनुगमन टोलीले ग्यास आपूर्ति भएपछि उपभोक्तालाई पारदर्शी र व्यवस्थित रूपमा वितरण गर्न डिलर तथा विक्रेतालाई निर्देशन दिएको छ ।
कृत्रिम अभाव सिर्जना गर्ने, ग्यास लुकाएर राख्ने, कालोबजारी गर्ने वा उपभोक्तालाई अनावश्यक दुःख दिने गतिविधि गरे कारबाही गरिने प्रशासनले चेतावनी दिएको छ । प्रशासनले ग्यासको आपूर्ति, स्टक र वितरण प्रणालीमाथि निगरानी बढाएको जनाएको छ ।
अब नियमित मात्र होइन, जुनसुकै बेला छड्के
ग्यास वितरणमा देखिएको समस्या समाधान गर्न प्रशासनले अब नियमित अनुगमनसँगै जुनसुकै बेला आकस्मिक छड्के गर्ने जनाएको छ । उपभोक्ताको गुनासो, बजारमा ग्यासको उपलब्धता, डिलरको स्टक र वितरण अवस्थाका आधारमा अनुगमन टोली परिचालन गरिने प्रशासनले जनाएको छ ।
अनुगमन टोलीमा प्रमुख जिल्ला अधिकारी भुषालसँगै जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख एसपी सीताराम रिजाल, सशस्त्र प्रहरीका एसपी रामहरी अधिकारी, राष्ट्रिय अनुसन्धानका उपनिर्देशक कुमार बुढाथोकीलगायत सुरक्षा निकाय तथा सरोकारवाला निकायका प्रतिनिधि सहभागी थिए ।
प्रशासनको यो कदमले ग्यास वितरणमा देखिएको समस्या समाधानमा कति प्रभाव पार्छ भन्ने कुरा आगामी दिनको आपूर्ति अवस्था र बजार अनुगमनबाट स्पष्ट हुने देखिन्छ ।