नेपालमा रासायनिक मलको अभाव भएपछि भारतबाट युरिया मल ल्याउने क्रममा पक्राउ परेका सर्लाहीका दुई किसान ३८ दिनपछि भारतीय प्रहरीको हिरासतबाट मुक्त भएका छन् । उनीहरूले नेपालमा पर्याप्त मल नपाएकै कारण बाध्य भएर भारत गएको बताएका छन् ।
सर्लाहीको बलरा नगरपालिका–५, अर्नाहा स्थायी घर भई हाल मलङ्गवा नगरपालिका–१० मा बसोबास गर्दै आएका ६४ वर्षीय नागेन्द्रप्रसाद सिंह र उहाँका भाइ ६२ वर्षीय सुरेशप्रसाद सिंह गत असार १७ गते भारतको बिहारस्थित सोनवर्षाबाट साइकलमा एक–एक बोरा युरिया मल लिएर फर्किने क्रममा भारतीय सीमासुरक्षा बल (एसएसबी) का सुरक्षाकर्मीले पक्राउ गरेका थिए ।
सीतामढी व्यवहार अदालतको आदेशअनुसार दुवै जनाले जनही १० हजार भारतीय रुपैयाँ धरौटी बुझाएपछि शुक्रबार साँझ हिरासतमुक्त भएर घर फर्किएका हुन् ।
घर फर्किएपछि नागेन्द्रप्रसाद खेतीपातीको कामका लागि शनिबार बिहान बलरास्थित गाउँ गएका छन् भने सुरेशप्रसाद मलङ्गवास्थित निवासमै रहेका छन् । सुरेशप्रसादका अनुसार आफूहरू किसान भएको र धान खेतीका लागि एक–एक बोरा मल लिन भारत गएको जानकारी दिँदासमेत एसएसबीका घुमुवा सुरक्षाकर्मीले दुर्व्यवहार गर्दै डुमरा प्रहरी थानाको जिम्मा लगाएका थिए ।
उहाँले आफूहरूलाई तस्करीको आरोप लगाएर ३८ दिनसम्म हिरासतमा राखिएको बताउनुभयो । वास्तविक रूपमा दुई बोरा युरिया मल मात्रै ल्याएको भए पनि मुद्दा चलाउँदा थप छ बोरा डिएपी मलसमेत बरामद भएको देखाइएको उहाँको आरोप छ ।
“नेपालमा धान रोपाइँका बेला मल पाइएन । त्यसैले दाजुभाइ मिलेर सोनवर्षा गएका थियौँ । फर्किने क्रममा एक्कासि एसएसबीका घुमुवाले पक्राउ गरेर डुमरा थानामा बुझाइदिए,” सुरेशप्रसादले भन्नुभयो । उहाँका अनुसार अदालतले मुद्दाको सुनुवाइका लागि प्रत्येक महिनामा एकपटक भारत पुगेर तारिख बुझाउनुपर्ने आदेश दिएको छ ।
यस घटनापछि सीमावर्ती क्षेत्रका किसानहरू थप त्रसित बनेका छन् । जिल्ला समन्वय समिति सर्लाहीका सभापति कौशलकिशोर सिंहले नेपाल सरकारले अनुदानमा उपलब्ध गराउने रासायनिक मल पर्याप्त नहुँदा सीमावर्ती क्षेत्रका धेरै किसान भारतबाट मल ल्याउन बाध्य भइरहेको बताउनुभयो ।
उहाँका अनुसार सीमा क्षेत्रमा सुरक्षा निगरानी कडा बनाइएकाले सिंह दाजुभाइजस्तै पक्राउ पर्ने डरका कारण किसानहरूमा त्रास फैलिएको छ । किसानलाई समयमै पर्याप्त रासायनिक मल उपलब्ध गराउन नसक्दा यस्ता समस्या दोहोरिने जोखिम बढ्दै गएको स्थानीयको भनाइ छ ।