सुनसरीको देवानगञ्जमा हिन्दु–मुस्लिम समुदायबीच भएको झडपका क्रममा गोली लागेर मृत्यु भएका व्यक्तिका परिवारसँग गरिएको सातबुँदे सम्झौता कार्यान्वयन नभएको भन्दै पीडित पक्ष आन्दोलनमा उत्रिएका छन् ।
घटनापछि गृहमन्त्री सुदन गुरुङ स्वयं घटनास्थल पुगेर मृतक ओमप्रकाश मेहता र जयप्रकाश मेहताका परिवार, गाउँपालिका प्रतिनिधि तथा स्थानीय सरोकारवालासँग सातबुँदे सम्झौता गरेका थिए । तर, सम्झौता भएको लामो समय बितिसक्दा पनि कार्यान्वयन नभएको भन्दै पीडित परिवार र स्थानीयवासी असन्तुष्ट बनेका हुन् ।
यसै घटनामा गोली लागेर घाइते भएका र उपचारका क्रममा काठमाडौंस्थित अस्पतालमा मृत्यु भएका रविन्द्र मेहताको शवसमेत चार दिनदेखि अस्पतालमै रहेको पीडित पक्षले जनाएको छ । शव व्यवस्थापन तथा पीडित परिवारका माग सम्बोधनमा सरकारले चासो नदिएको भन्दै उनीहरूले आपत्ति जनाएका छन् । गृहमन्त्रीले आफैं उपस्थित भएर गरेको सम्झौता कार्यान्वयन नगरेको आरोप लगाउँदै पीडित पक्ष र स्थानीयवासीले देवानगञ्ज बन्द गराएका छन्। बन्दका कारण बजार, यातायात तथा दैनिक जनजीवन प्रभावित भएको छ।
पीडित पक्षले घटनामा संलग्न दोषीलाई तत्काल पक्राउ गरी कानुनी कारबाही गर्नुपर्ने, मृतकका परिवारलाई उचित राहत तथा क्षतिपूर्ति उपलब्ध गराउनुपर्ने र सातबुँदे सम्झौताका अन्य बुँदासमेत तत्काल कार्यान्वयन गर्नुपर्ने माग राखेको छ ।
सरकारले माग सम्बोधन नगरे तथा घटनामा संलग्न दोषीमाथि कारबाही अघि नबढाए भोलिदेखि सुनसरीमा चरणबद्ध आन्दोलन सुरु गर्ने चेतावनी पीडित पक्षले दिएको छ । आन्दोलनका थप कार्यक्रमसमेत सार्वजनिक गर्ने तयारी भइरहेको उनीहरूले बताएका छन् ।