धनुषाको जनकपुरधाम उपमहानगरपालिका–९ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थसहित एक जना युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा जनकपुरधाम उपमहानगरपालिका–९ बस्ने २८ वर्षीय समिर कुमार साह रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटिएको प्रहरी टोलीले आइतबार बिहान साहलाई शंकास्पद अवस्थामा फेला पारी जाँच गर्ने क्रममा ब्राउनसुगर जस्तो देखिने पदार्थ बरामद गरेको हो ।
प्रहरीका अनुसार साहको साथबाट १ ग्राम ६० मिलिग्राम लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ फेला परेको छ । बरामद पदार्थसहित उनलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
प्रहरीले लागूऔषध कारोबार तथा ओसारपसार नियन्त्रणका लागि विशेष निगरानी बढाउँदै आएको जनाएको छ । पक्राउ परेका साहमाथि कानुनी प्रक्रिया अघि बढाइने प्रहरीले जानकारी दिएको छ ।