सिरहाको गोलबजार नगरपालिका–८ पुरानो चौहर्वाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थसहित एक जना युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा गोलबजार नगरपालिका–६ बस्ने २३ वर्षीय जय कुमार नायक रहेका छन् ।
इलाका प्रहरी कार्यालय गोलबजारबाट खटिएको प्रहरी टोलीले शनिबार राति नायकलाई शंकास्पद अवस्थामा फेला पारी जाँच गर्ने क्रममा लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ बरामद गरेको हो ।
प्रहरीका अनुसार नायकको साथबाट करिब ४ ग्राम ५६ मिलिग्राम उक्त पदार्थ फेला परेको छ । बरामद पदार्थसहित उनलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।
प्रहरीले सिरहा जिल्लामा लागूऔषध ओसारपसार तथा कारोबार नियन्त्रणका लागि निगरानी र कारबाहीलाई तीव्र बनाएको जनाएको छ ।