जनकपुरधाम । मधेस प्रदेशअन्तर्गत धनुषा, महोत्तरी र सर्लाही जिल्लामा आर्थिक वर्ष २०८२/८३ मा ग्रामीण भौतिक पूर्वाधार निर्माणमा उल्लेखनीय प्रगति भएको छ । विद्यालय भवन, सडक, नाला, कल्भर्ट, स्वास्थ्य भवन, सामुदायिक भवन तथा आपतकालीन आश्रयस्थल निर्माणलाई प्राथमिकतामा राख्दै अधिकांश योजना निर्धारित समयमै सम्पन्न गरिएको हो ।
सङ्घीय सहरी विकास तथा भवन निर्माण कार्यालयका अनुसार गत आर्थिक वर्षमा तीन जिल्लामा १२ वटा विद्यालय भवन निर्माण सम्पन्न भएका छन् । तीमध्ये सर्लाहीमा सात वटा तथा धनुषा र महोत्तरीमा एक/एक वटा विद्यालय भवन निर्माण भएका छन् । यसैगरी, धनुषा, महोत्तरी र सर्लाहीमा एक/एक वटा सामुदायिक भवन निर्माण गरिएको छ ।
कार्यालयका सूचना अधिकारी तथा इञ्जिनियर सुधिर साहका अनुसार महोत्तरीमा एउटा स्वास्थ्य भवन निर्माण सम्पन्न भएको छ । साथै, महोत्तरीमा एउटा र सर्लाहीमा दुई वटा आपतकालीन आश्रयस्थल (इमर्जेन्सी सेल्टर) निर्माण गरिएको छ ।
सडक पूर्वाधार निर्माणतर्फ पनि उल्लेखनीय प्रगति भएको कार्यालयले जनाएको छ । आधारभूत सडक निर्माणअन्तर्गत धनुषामा २३ हजार १८६ मिटर, महोत्तरीमा आठ हजार ७४७ मिटर र सर्लाहीमा ७०० मिटर सडक निर्माण गरिएको छ ।
कालोपत्र सडक निर्माणतर्फ धनुषामा तीन हजार ५९० मिटर, महोत्तरीमा आठ हजार ५८३ मिटर तथा सर्लाहीमा चार हजार २८ मिटर सडक निर्माण सम्पन्न भएको छ । यस्तै, सडक ढलानतर्फ धनुषामा ३३९ मिटर, महोत्तरीमा एक हजार ३४७ मिटर र सर्लाहीमा एक हजार ४११ मिटर काम सम्पन्न भएको छ ।
नाला निर्माणतर्फ धनुषामा पाँच हजार ३०५ मिटर, महोत्तरीमा एक हजार ५९० मिटर तथा सर्लाहीमा ४१० मिटर निर्माण गरिएको छ । कम्पाउन्ड वाल निर्माणअन्तर्गत धनुषामा १३४ मिटर, महोत्तरीमा १६६ मिटर र सर्लाहीमा ७०० मिटर निर्माण सम्पन्न भएको छ ।
यसैगरी, महोत्तरीमा १९६ मिटर इन्टरलक रोड (ब्लक छापिएको सडक) निर्माण गरिएको छ भने धनुषामा १५० मिटर पोखरीघाट निर्माण गरिएको कार्यालयले जनाएको छ । कल्भर्ट निर्माणतर्फ धनुषा र सर्लाहीमा दुई/दुई वटा तथा महोत्तरीमा एउटा कल्भर्ट निर्माण सम्पन्न भएको छ ।
सङ्घीय सहरी विकास तथा भवन निर्माण कार्यालय, जनकपुरधामका प्रमुख विनोद सिंहले नियमित अनुगमन, प्रभावकारी योजना व्यवस्थापन तथा समयमै बजेट कार्यान्वयन गरिएकाले अधिकांश आयोजना निर्धारित समयभित्र सम्पन्न भएको बताउनुभयो । उहाँले बाँकी रहेका योजनासमेत तोकिएको समयसीमाभित्र सम्पन्न गर्ने गरी काम अघि बढाइएको जानकारी दिनुभयो ।
स्थानीयवासीले सडक, नाला, कल्भर्ट तथा सार्वजनिक भवन निर्माण समयमै सम्पन्न हुँदा आवागमन सहज हुनुका साथै शिक्षा, स्वास्थ्य र सामुदायिक सेवा प्रवाहमा सकारात्मक प्रभाव पर्ने अपेक्षा व्यक्त गरेका छन् ।