पर्साको जीराभवानी गाउँपालिका–१ बलुवा टोलमा सञ्चालनमा रहेको आविद उखु क्रसर उद्योगका सञ्चालक शेख गैसुद्दिनलाई प्रहरीले अनुसन्धानका लागि नियन्त्रणमा लिएको छ ।
भारतको सीमावर्ती भङ्गाहा क्षेत्रबाट भन्सार छली सामान ओसारपसार भइरहेको सूचनाका आधारमा सुरक्षा निकायले सञ्चालन गरेको विशेष अभियानका क्रममा क्रसर उद्योगबाट शंकास्पद रूपमा भण्डारण गरिएको सख्खर (मीठा) बरामद भएपछि सञ्चालकलाई अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय पर्सामा राखिएको हो ।
जिल्ला प्रहरी कार्यालय पर्साको अपराध नियन्त्रण क्राइम टोली, सशस्त्र प्रहरी सुरक्षा बेस क्याम्प जीराभवानी, प्रहरी चौकी महादेवपट्टी, इलाका प्रहरी कार्यालय पटेर्वासुगौली र प्रहरी चौकी सुवर्णपुरबाट खटिएको संयुक्त टोलीले विभिन्न स्थानमा छापामारी गरेको थियो ।
छापामारीका क्रममा आविद उखु क्रसर उद्योगबाट १६ बोरा र सुवर्णपुर क्षेत्रबाट १५ बोरा गरी कुल ३१ बोरा सख्खर बरामद गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक (डीएसपी) चक्रबहादुर मल्लले जानकारी दिए ।
प्रहरीका अनुसार बरामद गरिएको सख्खर भारतको भङ्गाहा बजारबाट भन्सार छली गरी नेपाल ल्याइएको हुनसक्ने आशंका गरिएको छ । भारतबाट उक्त सामान नेपालतर्फ ल्याइएको देखिने केही भिडियो क्लिपसमेत फेला परेको प्रहरीले जनाएको छ ।
स्थानीय प्रत्यक्षदर्शीहरूले भारतबाट ल्याइएको सख्खर क्रसर उद्योग परिसरमा पुर्याइएको दाबी गरेका छन् । स्थानीयले भिडियो क्लिपमा उद्योग सञ्चालकसमेत देखिएको भन्दै घटनाको गहिरो अनुसन्धान गर्न माग गरेका छन् ।
प्रहरीका अनुसार क्रसर उद्योग केही दिनदेखि सञ्चालनमा नरहेको अवस्थामा भेटिएको थियो । उद्योग परिसरमा घाँस उम्रिएको तथा भेटिएका बिल–बीजकसमेत शंकास्पद देखिएकाले अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।
उद्योग सञ्चालक शेख गैसुद्दिनले भने प्रहरीसमक्ष बरामद सामानको बिल–बीजक रहेको र सामान वैध रूपमा खरिद गरिएको दाबी गरेको प्रहरीले जनाएको छ ।
हाल प्रहरीले बरामद सामानको स्रोत, बिल–बीजकको वास्तविकता, भारतबाट नेपालसम्म सामान ल्याइएको भनिएको मार्ग तथा भिडियोमा देखिएका व्यक्तिहरूबारे अनुसन्धान गरिरहेको छ । अनुसन्धानबाट तथ्य खुलेपछि मात्रै घटनामा संलग्न व्यक्तिको यकिन हुने प्रहरीले जनाएको छ ।