प्रहरीले बाराका विभिन्न सीमा क्षेत्रमा गस्तीका क्रममा भन्सार छली गरी नेपाल भित्र्याइँदै गरेको सामानसहित एउटा मोटरसाइकल बरामद गरेको छ ।
प्रहरीले करिब १ लाख ८८ हजार रुपैयाँ बराबरको अवैध सामान तथा मोटरसाइकल नियन्त्रणमा लिएको हो । जिल्ला प्रहरी कार्यालय बाराका अनुसार इलाका प्रहरी कार्यालय कबहीगोठ र प्रहरी चौकी श्रीनगर बैरियाबाट परिचालित टोलीले शुक्रबार र शनिबार जिल्लाका विभिन्न स्थानमा गस्ती गर्ने क्रममा भन्सार छलीका सामान बरामद गरेको हो ।
प्रहरीका अनुसार सुवर्ण गाउँपालिका–३ स्थित लङ्गडा टोलको सडकबाट बेवारिसे अवस्थामा ४ भाँगा बिँडी बरामद गरिएको छ । त्यस्तै, पचरौता नगरपालिका–३ ललचना टोलमा भारतबाट नेपालतर्फ भन्सार छली गरी सामान ल्याउँदै गरेको अवस्थामा प्रहरी टोलीलाई देखेपछि चालकले मोटरसाइकलसहित सामान छाडेर फरार भएका थिए ।
प्रहरीले उक्त मोटरसाइकलबाट ५० किलो चिनी, ३० लिटर खाने तेल र ४ भाँगा बिँडी बरामद गरेको जनाएको छ। बरामद मोटरसाइकलको अन्दाजी मूल्य ५० हजार रुपैयाँ रहेको छ । प्रहरीका अनुसार बरामद चिनीको अनुमानित मूल्य ५ हजार रुपैयाँ, खाने तेलको ८ हजार रुपैयाँ र बिँडीको १ लाख २५ हजार रुपैयाँ रहेको छ । मोटरसाइकलसहित बरामद सामानको कुल अनुमानित मूल्य १ लाख ८८ हजार रुपैयाँ रहेको प्रहरीले जनाएको छ ।
बरामद मोटरसाइकल तथा सामानलाई आवश्यक कारबाहीका लागि सम्बन्धित निकायमा बुझाउने प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।