रौतहटको सदरमुकाम गौरमा खाजा घरको आवरणमा लागूऔषध गाँजाको कारोबार भइरहेको खुलेको छ । प्रहरीले गाँजा बिक्री वितरण गरेको आरोपमा खाजा घर सञ्चालकलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा गौर नगरपालिका–६ का ३४ वर्षीय शुभ नारायण साह रहेका छन् । उनले गौर नगरपालिका–३ मा ‘काजल स्टील रेलिङ्ग’ नामबाट खाजा घर सञ्चालन गर्दै आएका थिए ।
जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार खाजा घरबाट सानो–सानो पुरीया बनाएर गाँजा बिक्री वितरण भइरहेको विशेष सूचनाका आधारमा प्रहरीले खानतलासी गरेको थियो ।
खानतलासीका क्रममा खाजा घरको काउन्टरको च्याकभित्र कालो प्लास्टिकको झोलामा लुकाएर राखिएको अवस्थामा गाँजा फेला परेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार बिक्रीका लागि तयार पारिएका १२५ वटा पुरीयामा रहेको कुल ७ सय ग्राम गाँजा बरामद गरिएको छ ।
गाँजासहित पक्राउ परेका साहलाई नियन्त्रणमा लिएर लागूऔषधसम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) बसन्त गौतमले जानकारी दिए ।
प्रहरीले खाजा घरलगायत अन्य व्यवसायिक आवरणमा हुन सक्ने लागूऔषध कारोबार नियन्त्रणका लागि निगरानी र कारबाहीलाई थप प्रभावकारी बनाइएको जनाएको छ ।