रौतहटको फतुवा विजयपुर नगरपालिका–१० दुधिअवामा विद्युत् लाइन सर्ट भएर दुई तले घरमा आगलागी हुँदा नगदसहित करिब १९ लाख १३ हजार रुपैयाँ बराबरको क्षति भएको छ ।
जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार सोमबार बिहान करिब ७ः४५ बजे खरेल इँटा उद्योगका साहु दीपेन्द्र खरेलको काठले बनेको जस्तापाताको छाना भएको दुई तले घरमा अचानक आगलागी भएको हो । मकवानपुरको हेटौँडा उपमहानगरपालिका–४ स्थायी घर भएका खरेल हाल दुधिअवामा बस्दै आएका थिए ।
विद्युत् लाइन सर्ट भएर लागेको आगोले घर पूर्ण रूपमा जलेर नष्ट भएको प्रहरीले जनाएको छ । प्रहरीको प्रारम्भिक विवरणअनुसार घरभित्र राखिएको २ लाख रुपैयाँ नगदसहित अन्य सामान जल्दा करिब १९ लाख १३ हजार रुपैयाँ बराबरको क्षति भएको छ । आगलागीबाट कुनै मानवीय तथा चौपाया क्षति नभएको प्रहरीले जनाएको छ ।
आगलागीको सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय लक्ष्मिनिया विजयपुरबाट इन्स्पेक्टर रादेश कुमार खत्रीको नेतृत्वमा ९ जना प्रहरी टोली घटनास्थल पुगेको थियो । त्यस्तै प्रहरी चौकी दुधिअवाबाट थप ३ जना प्रहरी तथा सशस्त्र प्रहरी बेस विजयपुर लक्ष्मिनियाबाट इन्स्पेक्टर काजीराम श्रेष्ठको नेतृत्वमा ९ जना सशस्त्र प्रहरी परिचालन गरिएको थियो ।
प्रहरी, सशस्त्र प्रहरी, स्थानीयवासी तथा बारा जिल्लाको कोल्हबी नगरपालिकाको दमकलको सहयोगमा करिब डेढ घण्टापछि बिहान ९ः१० बजे आगो पूर्ण रूपमा नियन्त्रणमा लिइएको थियो ।
आगलागीको प्रारम्भिक कारण विद्युत् लाइन सर्ट भएको देखिए पनि घटनाको विस्तृत विवरण र क्षतिको यकिन मूल्यांकनका लागि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।