मानव बेचबिखन तथा ओसारपसार र जबरजस्ती करणीसम्बन्धी कसूरमा फरार रहेका धनुषाका एक प्रतिवादीलाई कतारबाट पक्राउ गरी नेपाल ल्याइएको छ ।
पक्राउ पर्नेमा धनुषाको धनौजी गाउँपालिका–५ का मो. ताहिर राईन रहेका छन् । घटनापछि फरार रहेका राईनको खोजतलास तथा पक्राउका लागि नेपाल प्रहरीले अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोल) मार्फत रेड नोटिस जारी गराएको थियो ।
नेपाल प्रहरी प्रधान कार्यालय, अपराध अनुसन्धान विभागको इन्टरपोल शाखाको अनुरोधमा इन्टरपोल महासचिवालयले सन् २०२६ जुलाई २८ मा राईनविरुद्ध रेड नोटिस जारी गरेको थियो ।
इन्टरपोल शाखा (एनसीबी काठमाडौं) र एनसीबी दोहा, कतारबीचको समन्वयमा राईनलाई कतारमा पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेका राईनलाई कतार एयरवेजको उडानमार्फत सोमबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ल्याइएको थियो ।
विमानस्थलमा इन्टरपोल शाखाबाट खटिएको प्रहरी टोलीले उनलाई नियन्त्रणमा लिएर आवश्यक कानुनी कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय धनुषामा पठाएको नेपाल प्रहरीले जनाएको छ ।