पर्साको पटेर्वा सुगौली गाउँपालिका–५ मोरटोलस्थित भलुवाहीबाट अवैध रूपमा ढुङ्गा, गिट्टी तथा बालुवा ओसारपसार गरिरहेको अवस्थामा प्रहरीले तीन वटा ट्याक्टरसहित तीन जना चालकलाई नियन्त्रणमा लिएको छ ।
जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार इलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीबाट खटिएको प्रहरी टोलीले ना.४ त ९१२८, ना.६ त २५५१ र म.प्र.००३–००१ त ८१५८ नम्बरका ट्याक्टरसहित चालकहरूलाई नियन्त्रणमा लिएको हो ।भलुवाही खोलाबाट प्राकृतिक सम्पदाको हानि–नोक्सानी हुने गरी अवैध रूपमा गिट्टी तथा बालुवा चोरी–तस्करी भइरहेको विशेष सूचनाका आधारमा प्रहरीले निगरानी बढाएको थियो । सोही क्रममा अवैध रूपमा ढुङ्गा, गिट्टी तथा बालुवा ओसारपसार गरिरहेको अवस्थामा ट्याक्टरसहित चालकहरूलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
नियन्त्रणमा लिइएका तीनवटै ट्याक्टर र चालकहरूलाई हाल इलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीको नियन्त्रणमा राखिएको छ ।
प्रहरीका अनुसार उनीहरूलाई थप आवश्यक कारबाहीका लागि पटेर्वा सुगौली गाउँपालिकाको राजस्व शाखामा बुझाउने प्रक्रिया अघि बढाइएको छ ।