पर्सामा प्रहरीले १६.५७ ग्राम ब्राउन सुगरसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार वीरगंज महानगरपालिका–१४ स्थित कृष्ण प्रणामी चोकमा ब्राउन सुगरको खरिद–बिक्री भइरहेको विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय पर्सा र लागूऔषध नियन्त्रण ब्युरो वीरगंजबाट खटिएको संयुक्त प्रहरी टोलीले एक जनालाई पक्राउ गरेको हो ।
प्रहरीले शंकास्पद रूपमा पैदल हिँडिरहेका व्यक्तिलाई रोकी खानतलासी गर्दा भारतको बिहार, मोतिहारी जिल्ला, पन्तोका श्रीपुरग्राम पञ्चायत–१ बस्ने २५ वर्षीय शरधुन पासवानको साथबाट ब्राउन सुगरजस्तो देखिने पदार्थ बरामद गरेको जनाएको छ । प्रहरीका अनुसार प्लास्टिकसहित १८ ग्राम ८० मिलिग्राम र प्लास्टिकबाहेक १६ ग्राम ५७ मिलिग्राम लागूऔषध बरामद भएको हो ।
पक्राउ परेका पासवानलाई बरामद लागूऔषधसहित नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।