प्रहरी हिरासतमा रहेका व्यक्तिलाई छुटाइदिने प्रलोभन देखाई रकम असुल गरेको आरोपमा सर्लाहीको सीमावर्ती क्षेत्रबाट एक व्यक्ति पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा विष्णु गाउँपालिका–४ निवासी ४० वर्षीय अवधेश चौधरी (बेचन) रहेका छन्। उनलाई प्रहरीले विष्णु गाउँपालिका क्षेत्रबाटै नियन्त्रणमा लिएको हो । सर्लाही प्रहरीका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक (डीएसपी) वेदप्रसाद गौतमका अनुसार चौधरीले विष्णु गाउँपालिका–४ कै स्थानीय राजेन्द्र रायसँग मिलेर प्रहरी नियन्त्रणमा रहेका व्यक्तिलाई छुटाइदिने भन्दै रकम लिएको पाइएको छ ।
यस घटनामा संलग्न भनिएका अर्का व्यक्ति राजेन्द्र राय भने हाल फरार रहेको प्रहरीले जनाएको छ ।
डीएसपी गौतमका अनुसार फरार रायको खोजी कार्य जारी रहेको छ। घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।