पर्सा प्रहरीले १ सय ५ किलो लागूऔषध गाँजासहित एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय पटेर्वासुगौली र ठोरीबाट खटिएको संयुक्त प्रहरी टोलीले भारतको बेतिया जिल्ला निवासी ५० वर्षीय सऊरू चौधरीलाई गाँजासहित पक्राउ गरेको हो । प्रहरीका अनुसार साउन २५ गते राति करिब ९ बजे पर्साको पटेर्वासुगौली गाउँपालिका–३, सोनवर्षास्थित सडक छेउको बारीबाट चौधरीलाई पक्राउ गरिएको हो ।
गाँजा बिक्री तथा ओसारपसार भइरहेको विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले शंकास्पद रूपमा बोरा बोकेर हिँडिरहेका चौधरीलाई रोकी जाँच गरेको थियो । सो क्रममा उनले लुकाइछिपाइ राखेको १ सय ५ किलोग्राम गाँजा बरामद भएको प्रहरीले जनाएको छ । बरामद गाँजाको तौल प्लास्टिकबाहेक १ सय ५ किलोग्राम रहेको प्रहरीले स्पष्ट पारेको छ ।
पक्राउ पर्ने चौधरी भारतको बेतिया जिल्ला, ग्राम उजहरु परजिलवा, भांगाह श्रीनगर–३ निवासी रहेको प्रहरीले जनाएको छ ।
बरामद गरिएको गाँजासहित चौधरीलाई नियन्त्रणमा लिएर लागूऔषधसम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लले जानकारी दिनुभयो ।